
म्याग्दी, १० पुस–म्याग्दी जिल्लामा उत्पादन भएको मसलेदार फल टिम्मुर विदेशी बजारमा निकासी हुन थालेको छ ।
बेनी नगरपालिका १० को घतान तोरीपानी टिम्मुर उत्पादक समूहमा आबद्ध कृषकले उत्पादन गरेको टिम्मुर जापान र जर्मन निकासी भएको हो ।
यस वर्ष पहिलोपटक जापान र जर्मनमा २५÷२५ किलो टिम्मुर बिक्रीका लागि निकासी गरिएको तोरीपानीका टिम्मुर उत्पादक कृषक गङ्गाबहादुर बानियाँले जानकारी दिए ।
बानियाँका अनुसार, सोलुखुम्बुका व्यवसायीसँग मिलेर प्रतिकिलो एक हजार पाँच सयका दरले टिम्मुर खरिद गरी विदेशमा पठाइएको हो । टिम्मुरलाई चटनी, दालमा राखेर स्वादका लागि, चिसोमा न्यानो बनाउन एवम् मधुमेहका बिरामीले औषधिका रूपमा पनि प्रयोग गर्दै आएका छन् ।
पहिले टिम्मुर बिक्री गर्न पोखरा र मुस्ताङ पुग्ने कृषक अहिले गाउँमै व्यापारी आउन थालेपछि उत्साहित बनेको बानियाँले बताए ।
तोरीपानीका गङ्गाबहादुर बानियाँ, तुलसीकुमारी बानियाँ, गुमानसिंह बानियाँ, बलबहादुर परियार, कृष्णबहादुर खत्री र युव गिरीलगायतले व्यक्तिगत वन, पाखो र खेतबारीको खोल्सामा टिम्मुरको व्यावसायिक खेती गर्दै आएका छन् ।
घतानको सबैजसो बस्तीमा टिम्मुर उत्पादक समूह रहेको र राम्रो मौसम भएमा एउटै समूहले वर्षमा ७० मुरीसम्म टिम्मुर उत्पादन गर्नेे बानियाँले बताए । घतानका बासिन्दाले सामूहिक र व्यक्तिगत रूपमा व्यावसायिक टिम्मुर खेतीका साथै टिम्मुरका बिरुवा उत्पादन गरेर देशका विभिन्न जिल्लामा निकासी पनि गर्न थालेका छन् । रासस