वैद्य माओवादीका पदाधिकारीकै गृहजिल्लामा विप्लवतिर बाढी

काठमाण्डु टुडे २०७१ पुष १० गते १०:१८ मा प्रकाशित

काठमाण्डु, ९ पुस– नेकपा–माओवादीले पुस ११ देखि राष्ट्रिय भेला गर्दैछ । माओवादीका पदाधिकारीहरु त्यसैका तयारीमा काठमाण्डुमा व्यस्त छन् तर उनीहरुका गृह जिल्लातिर भने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले पहिरो चलाइदिएको छ ।

mohan baidhya-netra bikram chand
माओ दिवसका अवसरमा हुने भेलाका लागि राजनीतिक प्रतिवेदनमा अध्यक्ष मोहन वैद्य ‘किरण’ले पुनः ‘जनयुद्धको जगमा जनविद्रोह’ लेख्दैछन् तर उनकै गृह जिल्लाका थुप्रै कार्यकर्ताहरुको विद्रोह चाहिं विप्लव नेतृत्वको पार्टीमा पुग्नका लागि भएको छ ।
कम्युनिष्ट पार्टीमा संगठनलाई जग मानिन्छ, जसले नीति तथा कार्यक्रमलाई जनतासम्म जोड्छ र जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्छ । त्यसैको बलमा आन्दोलन अगाडि बढाउने विश्वास गरिन्छ तर संगठन देशको मुहार नै फेर्न क्रियाशील रहन्छ ।
मातहतका कार्यकर्तालाई निर्देशन दिइरहने पार्टी अध्यक्ष किरणको प्युठान, उपाध्यक्ष सिपी गजुरेल ‘गौरव’को सिन्धुली, महासचिव रामबहादुर थापा ‘बादल’को चितवन, सचिव देव गुरुङको मनाङ र कास्की, तथा पार्टी प्रवक्ता पम्फा भुसालको गृह जिल्ला कपिलवस्तुका अधिकांश नेता कार्यकर्ता विप्लवतर्फ लागेका छन् ।
अध्यक्ष किरणको गृह जिल्ला प्युठानको ४८ सदस्यीय जिल्ला कमिटीमा जिल्ला सेक्रेटरी सुर्यप्रसाद थापा तथा सह–सेक्रेटरी सीता विक ‘सम्झना’सहित ३३ जना सदस्य विप्लवतर्फ गएका छन् । विक संविधानसभामा सभासद पनि थिइन् । ८ जना किरणले नेतृत्व गरेको पार्टीमा छन्, बाँकी ७ जना निस्क्रिय तथा न्युटल रहेका छन् ।
‘०६४ सालदेखि काम गर्न छोडेर निष्कृय रहेका तीन जना गनेर किरणजीहरुले आफ्नो भन्ने गर्नु भएको छ तर वहाँहरु उहिलैदेखि काम गर्न छाडेका बुढाखाडा हुन्’, प्युठान जिल्ला सेक्रेटरी थापाले भने, ‘तर यो आँकडा पनि राष्ट्रिय सम्मेलनपछि फेरिन सक्छ ।’
विप्लवको पार्टीमा समाहित हुनेहरुमा विद्यार्थीका अध्यक्ष बामबहादुर बुढा मगर, महिलाकी अध्यक्ष सुशिला गिरी, किसानका अध्यक्ष रणबहादुर थापा मगर, मजदुरका अध्यक्ष परिवर्तनसहित दलित, मगर, कर्मचारी, पत्रकारसहित अन्य जनवर्गीय संगठनका प्रमुखहरु रहेको बताउँछन् नवगठित माओवादीका प्युठान जिल्ला सेक्रेटरी सूर्यप्रसाद थापा ।
किरणको पार्टीमा नै रहनेहरुमा केन्द्रीय सदस्य धनेश्वर पोखरेल तथा नारायण अधिकारी रहेका छन् । त्यस्तै किरणले लामो समय संगठन निर्माणको काम गरेको दाङमा किरण नेतृत्वको नेकपा–माओवादीको ७५ सदस्यीय जिल्ला कमिटिमा २० जना विप्लवतर्फ गएको बताउँछन् किरणतर्फ रहेका दाङ जिल्लाका सेक्रेटरी सुवास ।
विप्लवले पार्टी विभाजन गरेसँगै दाङमा सह–सेक्रेटरी बलबहादुर केसी ‘शीतल’ नेतृत्वमा विद्यार्थी, मजदुर, दलित लगायतको नेतृत्वमा विप्लवतर्फ गएका थिए । शीतलले दाङमा आफ्नो बहुमत रहेको भन्दै दाङका इञ्चार्ज इन्द्रजीत चौधरी घोराहीमा पसल थापेर बसेकाले उनी निस्क्रिय रहेको भन्दै अन्य संगठनहरु आफुतर्फ रहेको दावी गरे ।
पार्टी उपाध्यक्ष रहेका सिपी गजुरेलको गृह जिल्ला सिन्धुलीको जिल्ला पादाधिकारीहरुमा तीन विप्लवतर्फ तथा दुई किरणतर्फ लागेका छन् । त्यस्तै नौ जना जिल्ला सल्लाहकारमा छ जना आपूmतर्फ रहेको बताउँछन् पार्टी केन्द्रीय सदस्य तथा सक्रेटरी चिरन पुन ।
उनले जनयुद्धकालीन समयमा पार्टीलाई सहयोग गर्ने मुख्य क्षेत्र आफुतर्फ रहेको बताए । पुनले भने, ‘२७ जनाको जिल्ला सदस्यमा हामी बहुमतमा छौ, सल्लाहकारदेखि जनवर्गीय संगठनमा पनि हाम्रो राम्रो पकड रहेको छ ।’
महासचिव रामबाहादुर थापा ‘बादल’को गृह जिल्ला चितवनमा किरणले नेतृत्व गरेको माओवादी रित्तिएको बताउँछन् विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनी ।
लोहनीले जिल्लाको पाँच पदाधिकारीमा तीन विप्लवतर्फ रहेको तथा १० इलाकामा बाबुराम प्यालीले नेतृत्व गरेको इलाका मात्रै किरणले नेतृत्वको माओवादीमा रहेको तथा दुई सल्लाहाकारमा एक÷एक बाँडिएको बताए । उनी हाल विप्लव नेतृत्वको माओवादीमा चितवन जिल्ला इञ्चार्ज तथा सेक्रेटरी छन् ।

biplav
चितवनमा मजदुरका अध्यक्ष होमबहादुर खड्का, विद्यार्थी अध्यक्ष, सरोज भण्डारी, महिला अध्यक्ष गीता आचार्य, शिक्षक अध्यक्ष कृष्ण परियार, स्वयंमसेवक अध्यक्ष किरण पोखरेल विप्लव नेतृत्वकै पार्टीमा रहेको लोहनीले बताए तर किरण नेतृत्वको पार्टीकी चितवन सेक्रेटरी अम्बिका मुडभरीले भने जिल्लामा आफूहरु मजबुत भएको बताइन् ।
चितवनमा मुडभरीले ९५ सदस्यीय जिल्ला कमिटिमा ४२ जना आफ्नो तर्फ रहेको ३२ जना विप्लव तर्फ लागेको तथा बाँकी सवै निस्किृय रहेको बताइन् । मुडभरीले विदेश गएका तथा निस्क्रिय भएकालाई जोडर विप्लव पक्षले आफ्नो ठुलो कमिटी भन्दै फेसबुके प्रचार गरेको आरोप लगाइन् ।
‘वहाँहरु भुगोलमा भन्दा फेसबुकमा धेरै रमाउनुहुन्छ, हामी त्यसलाई महत्व दिदैनौं, जिल्लामा हाम्रो पकड राम्रो रहेको छ’, उनले काठमाण्डु टुडेलाई भनिन् ।
सचिव देव गुरुङको गृह जिल्ला कास्कीमा पनि किरणको संगठन कमजोर देखिन्छ । मनाङमा विप्लवको संगठनले छिर्न पनि पाएको छैन । मनाङमा देव गुरुङका आफन्तीहरु मनाङमा देव गुरुङका आफन्ती बेदबहादुर गुरुङ ‘कर्साङ्ग’, दीप तथा मनाङमा शिक्षण पेशामा रहेका गोर्खाका शम्भु भट्टराईसहित १३ सदस्यीय जिल्ला कमिटी किरणको खम्बाजस्तै रहेको छ ।
मनाङका सेक्रेटरी रहेका कर्साङ्गले मनाङमा आफ्नो पार्टीलाई कसैले केही गर्न नसक्ने बताए । ‘सबै हामी नै छौ हामीलाई यहाँ कसैले कतै लैजाने कुरा नै छैन’, उनले भने ।

विप्लवले नेतृत्व गरेको माओवादीकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ले मनाङमा संगठन बनाउन नपर्ने बताइन् । ‘त्यो छ महिना माथि बस्ने र छ महिना तल झर्ने ठाँउ हो त्यसैले हामीले त्यहाँभन्दा धेरै ध्यान कास्कीमा दिएका छौं’, आस्थाले भनिन् ।
किरण नेतृत्वको माओवादीलाई मनाङमा जस्तो सजिलो कास्कीमा छैन । महिला नेतृ तथा पार्टी केन्द्रय सदस्य सावित्रा दुरा ‘आस्था’ सहितको ठुलै समुह पुरानो पार्टी छाडेर नयाँमा समाहित भएका छन् । आस्था बेपत्ता विद्यार्थी नेता पूर्ण पौडेलकी श्रीमती पनि हुन् । उनी कास्की सेक्रेटरी र इन्चार्ज पनि थिइन् । कास्कीका ३२ जिल्ला सदस्यमा २० विप्लवतर्फ लागेका छन् भने आठ किरणतर्फ रहेका छन् । बाँकी चार निस्क्रिय छन् ।
विप्लवतर्फ पार्टी सचिव, सह–सचिव, विद्यार्थी महिला, राष्ट्रिय स्वयमसेवक, दलितसहितका जनवर्गीय संगठन प्रमुखहरु किरण छाडेर विप्लवतर्फ लागेका छन् । तर पार्टीको मजबुत संगठन मानिने मजदुर भने किरणतर्फ नै रहेको हाल विप्लवतर्फ रहेकी सेक्रेटरी आस्थाले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us