बैंकक अपहरणमा परेका नेपालीको उद्धार

काठमाण्डु टुडे २०७१ पुष ९ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, ९ पुस– बैंककमा अपहरणमा परेका तीन नेपाली विद्यार्थीलाई उद्धार गरी अपहरणमा संलग्न तीन जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकक प्रहरीको सहकार्यमा पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा पाकिस्तानी मुलका बाबु रहेका थाई नागरिक २२ वर्षीय युकास रेहमान, पाकिस्तानी मुलका घटना हुनुभन्दा २० दिन अगाडि मलेसियाबाट बैंकक आएको भत्रे बुझिएका ४६ वर्षीय मोहम्मद जालिर र सर्लाही छतौना–९ बस्ने ३० वर्षीय सुजन यादव भनिने श्रीचन राय रहेका छन् ।

बैंककस्थित एजुम्पसन युनिभर्सिटी अफ थाइलैण्डमा रहेका रोशन श्रेष्ठ, कर्ण हाचेथु र बिभुष रिजाल पुस ५ गते अपहरणमा परेको र छुटकाराको लागि फिरौती रकम माग गरिएको भनी पीडितको उजुरीका आधारमा व्यूरोबाट प्रहरी उपरीक्षकको टोली बैंककतर्फ प्रस्थान गरेर अपहरित प्रहरीलाई छुटाएको हो ।

अनुसन्धानको क्रममा अपहरणमा परेका ती नेपाली विद्यार्थीलाई सकुशल रिहा गराई घटनामा संलग्न २ जनालाई पुस ८ गते पक्राउ गरी फिरौती बापतको रकम बुझि लिने भन्ने बुझिएका श्रीचन रायलाई थप अनुसन्धानको लागि पुस ९ गते व्यूरोले पक्राउ गर्न सफल भएको थियो ।

बिदेशमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले नयाँ साथी बनाउँदा, घुमफिर गर्दा, कुनै कार्यक्रममा जाँदा विशेष ख्याल राख्न र घटना भइसकेपछि नजिकको प्रहरी कार्यालयमा तुरुन्त उजुरी दिनसमेत सो व्यूरोले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us