बिदेश नजाउ, पैसा दिन्छौ, खेती गर…

काठमाण्डु टुडे २०७१ पुष ९ गते ११:१५ मा प्रकाशित

कञ्चनपुर, ९ पुस–वैदेशिक रोजगारमा जानबाट युवालाई रोक्नका लागि जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले व्यावसायिक तरकारीखेतीका लागि ७२ जना युवालाई अनुदानस्वरुप ४३ लाख २० हजार रकम उपलब्ध गराएको छ ।

युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत छनोटमा परेका ७२ जना युवालाई ६० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।

‘व्यावसायिक तरकारीखेतीका लागि विदेशबाट फर्केका, विदेश जाने इच्छा देखाएका, विपन्न, दलित, द्वन्द्वपीडित, तरकारी खेतीबारे तालिम लिएका र गत वर्ष तरकारी खेतीका लागि आवेदन दिएका छनोटमा नपरेका युवालाई छनोट गरी अनुदान रकम उपलब्ध गराएका छौँ ।’ कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए ।

छनोटमा परेका युवाले एक बिगाहा खेतमा तरकारीखेती गर्नुपर्ने गरी सम्झौता गरिएको छ । तरकारीखेतीका लागि अनुदान उपलब्ध गराइएका युवालाई व्यावसायिक खेतीबारे तालिम दिई दक्ष बनाइने अधिकृत थापाले जानकारी दिए ।

दक्ष युवा कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जान थालेपछि कृषिमा युवा जनशक्तिविहीन बन्दै जान थालेपछि युवा लक्षित कार्यक्रम सञ्चालन गरी युवालाई कृषिमा संलग्न गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

यसैगरी, कृषि विकास कार्यालय कञ्चनपुरले व्यावसायिक किट विकास कार्यक्रमअन्तर्गत ४० जना युवालाई च्याउखेतीका लागि १९ लाख रकम अनुदानस्वरुप प्रदान गरेको छ ।

प्रतियुवा ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us