नेपालमै पाँच सय दुग्ध उद्योग हुँदा पनि भारतबाट किन आउँछ दूध ?

काठमाण्डु टुडे २०७१ पुष ८ गते ११:२३ मा प्रकाशित

ललितपुर, ८ पुस–नेपालमा वार्षिक छ हजार मेट्रिक टन धुलो दूध र एक हजार आठ सय टन बटर दूध आयात हुने गरेको राष्ट्रिय दुग्ध विकास बोर्डले बताएको छ ।

 

Glass-of-milk-2009
आयात गरिने यी दुवै प्रकारका दूधहरू भारतको विहारबाट ल्याइने गरेको राष्ट्रिय दुग्ध विकास बोर्डका प्राविधिक निर्देशक डा बालक चौधरीले जानकारी दिए । बटर दूध विशेषगरी घ्यू उत्पादन गर्नका लागि प्रयोग गरिन्छ ।

उनका अनुसार हाल नेपालमा साना र ठूला गरी करिब पाँच सय दुग्ध उद्योग सञ्चालनमा रहेका छन् । बोर्डले पछिल्लोपटक निकालेको आँकडाअनुसार वार्षिक रुपमा १६ लाख २२ हजार मेट्रिक टन दूध उत्पादन हुने गरेको भए पनि उत्पादित दूध अपुग भएकाले भारतबाट ल्याउनुपरेको हो ।

उत्पादन भएका दूधबाट बनाइएका विभिन्न प्रकारका मिठाइ तथा घ्यू करिब तीन हजार मेट्रिक टन निर्यात हुने गरेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हरेक एक वर्षमा स्वस्थ व्यक्तिले ५७ लिटर दूध उपभोग गर्नुपर्ने भए पनि उत्पादन कम तथा बाहिरबाट आयात गर्नुपर्ने भएकाले महँगो हँुदा प्रतिव्यक्ति ५२ लिटर दूध उपभोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार प्रतिव्यक्ति पाँच लिटर दूध अपुग भएको देखिन्छ ।

पछिल्लो समय मानिस गाईभैँसी पालेर दूध उत्पादन गर्न झन्झट मान्ने, प्याकेटको झोल दूध पनि धुलो दूधको तुलनामा महँगो भएकाले र प्याकेटको धुलो दूध केही समय बढी प्रयोग गर्न सकिने भएकाले धुलो दूध प्रयोग गर्ने प्रयोगकर्ता पनि बढेको पाइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us