के चिनिया शताब्दीको सुरुआत भएकै हो ?

काठमाण्डु टुडे २०७१ पुष ९ गते १०:५४ मा प्रकाशित

dhruba raj adhikariविश्ववैंकको पछिल्लो रिपोर्टअनुसार सन् २०१४ को अन्त्यसम्म आइपुग्दा अमेरिकालाई समेत उछिनेर चीन विश्वको सबभन्दा ठूलो अर्थतन्त्र बनेको छ । क्रयशक्ति मिलान गराउँदा चीनको कुल गार्हस्थ उत्पादन संसारकै सबभन्दा धेरै साबित भएको हो । चिनिया सरकारले यो तथ्याङ्कलाई त्यति महत्व दिएको छैन किनकि ऊ खासगरी चीनलाई विगतदेखि नै नियन्त्रित वा ‘कन्टेन’ गर्ने कहिले खुल्ला त कहिले भूमिगत नीति लिँदै आएको विश्व महाशक्ति अमेरिकालाई अनावश्यक रुपमा उत्तेजित वा तरङ्गित गराउन चाहँदैन । अमेरिकी अर्थशास्त्री जेसेफ स्टिग्लिजले भने उक्त रिपोर्टलगायतका तथ्यमा आधारित भएर ‘चिनिया शताब्दी’को सुरुआत भएको दाबी गरेका छन् । यहाँनिर उनको आशय चीन विश्व महाशक्ति नै बनिसक्यो भन्ने भने कदापि होइन ।

त्यसो त चीन विश्व राजनीतिको रङ्गमञ्चमा पछाडि पारिएको र पश्चिमाहरुको दिग्विजय सुरु भएको करिब साढे दुई सय वर्ष मात्रै पुगेको छ । सन् १७५० सम्म पनि चिनिया साम्राज्य र भारतीय उपमहाद्वीपमा हुने उत्पादन विश्वको कुल गार्हस्थ उत्पादनको दुई तिहाई थियो । छापाखाना, बारुद, फलाम उत्पादनलगायतका सबैजसो वैज्ञानिक आविष्कार युरोपभन्दा चीनमा नै पहिले भएका थिए । सन् १४९२ मा करिब ८० जना मानिस लिएर क्रिस्टोफर कोलम्बस समुद्री मार्गबाट अमेरिका पुग्नुभन्दा ८० वर्ष पहिले चीनका झेन ही नाम गरेका एडमाइरलले ३० हजार सेना लिएर विश्वभ्रमण गरेका थिए, त्यो पनि समुद्री मार्गबाट । सन् ५०० देखि १५०० सम्म चीन र भारतीय उपमहाद्वीपको सभ्यताको विकास युरोपको भन्दा कैयौं गुणा उपल्लो स्तरको थियो । सन् १४९८ मा भास्को डे गामाले भारतीय उपमहाद्वीपसम्मको यात्रा अफ्रिकामा फेला पारेका एकजना गुजराती नाविकको सहयोगमा मात्र तय गर्न सकेका थिए । यति हुँदा हुँदै पश्चिमाहरुले गएका दुई सय वर्षमा किन र कसरी विश्व साम्राज्य कायम गर्न सफल भए ? आज चीन विश्वको एक नम्बर अर्थतन्त्र भैसकेपछि के एसियाली गौरवको पुनःस्थापना सुरु भएको हो ? अमेरिकी एकध्रुवीय र एकछत्र राज रहेको विश्वव्यवस्थामा यो परिघटनाले केकस्तो असर पर्ला ? यिनै समसामयिक प्रश्नमा चर्चा गर्ने प्रयत्न यस आलेखमा गरिएको छ ।

पश्चिमको उदय
पश्चिमको उदयको बारेमा हालसम्म युरोप–अमेरिकामा उत्पादन भएका पठ्यपुस्तकमार्फत सिकाइएको के हो भने युरोपको हावापानी, नश्ल, संस्कृति र भूगोल श्रेष्ठतर भएकोले त्यो अगाडि आएको हो र पूर्वको हावापानी, संस्कृति, नश्ल र भूगोल कमसल भएकाले एसियाली र अफ्रिकीहरु पछाडि परेका हुन् । यही तर्कलाई आधार बनाएर पश्चिमेलीहरुले ‘सभ्यताको विस्तार’ वा ‘सिभिलाइजिङ मिसन’ भन्दै विश्वव्यापी साम्राज्यको विस्तार पनि गरे । तर, यो युरोपकेन्द्रित सिद्धान्त गलत भूगोलशास्त्र र गतल इतिहास हो । गएका दुई सहस्राब्दीमा अधिकांश समय एसिया युरोपभन्दा विकसित भएको तथ्यले नै उक्त युरोपेली तर्क नश्लवादी अहंकारवादी भएको स्पष्ट हुन्छ ।
त्यसो भए युरोपेलीभन्दा अघि सभ्यताको उचाइ छोएका र ज्ञानदर्शनको समेत विकास गरेका एसियालीहरु गएका दुईसय वर्षमा किन पछाडि परे ? अथवा पन्ध्रौं शताब्दीको अन्त्यबाट कसरी युरोपेलीहरुले विस्तारै शक्ति आर्जन गरेर अन्ततः अठारौं शताब्दीको अन्त्यसम्म आइपुग्दा एसियालीहरुलाई पछाडि धकेल्न सफल भए त ? यसका पछाडि मुख्यतः तीनवटा कारण छन् । पहिलो कारण राजनीतिमा छ । त्यो के भने चिनिया साम्राज्य शान्तिपूर्ण साम्राज्य थियो । उनीहरु आफूलाई ‘मध्य अधिराज्य’ ठान्थे । चिनिया सम्राटलाई आवधिक रुपमा नजराना पठाउने जुनसुकै राज्यलाई पनि उनीहरु सामान्यतः शान्तिपूर्ण ढंगले जीउन दिन्थे । कोलम्बसभन्दा ८० वर्ष पहिले चिनियाहरुले अमेरिका पत्ता लगाउका थिए । तर, उनीहरुले त्यहाँ वस्ती बसाउने वा कब्जा गर्ने नीति लिएनन् । युरोपेलीहरुले भने अमेरिका पुगेपछि त्यहाँका सोझा आदिवासीहरुलाई नरसंहार गरे । युरोपेलीहरुसँगै त्यहाँ पुगेका घातक रोगका जीवाणु र उनीहरुले चलाएको आमसंहारबाट ९० प्रतिशत आदिवासी जनसंख्या मारिए । त्यसैगरी, युरोपभित्रै पनि त्यहाँका राज्यहरु एकअर्कासित लडिरहन्थे । त्यसबाट उनीहरुकोमा एक प्रकारको सहरीकरण बढ्यो र युद्ध एवम् प्लेगका कारण जनसंख्याको ठूलो हिस्सा मारिएकोले त्यहाँ पुँजीबाहुल्य प्रविधिको खोजी भयो । जुन एसियामा हुन सकेन ।
दोस्रो, सन् ५०० र १५०० को बीचमा एसिया र युरोपको बीचमा व्यापार र सञ्चारका जुन मार्गहरु विकास भए त्यसले पूर्व र पश्चिमलाई जोड्ने काम भयो । पूर्वेली भूमण्डलीकरण युरोपसम्म विस्तार भयो । यो क्रममा व्यापारी, राज्यका दूतहरु, यात्री आदिको आवतजावत र विभिन्न सैन्य अभियानहरु बढ्दै जाँदा एसिया, अफ्रिका र इस्लामिक दुनियामा विकास भएको ज्ञान र प्रविधि अर्थात् ‘रिसोर्स पोर्टफोलियो’ पश्चिमसम्म पुग्यो ।
तेस्रो, यसमा संयोगको पनि हात छ । युरोपेली खासगरी स्पेनीहरुले हालको ल्याटिन अमेरिका (तत्कालीन इन्का र एज्टेक सभ्यता रहेको क्षेत्र) मा चाँदीको ठूलो भण्डार फेला पार्नु र त्यही समय वरिपरि चीनमा चाँदीका सिक्कालाई मुद्राका अरुपमा प्रचलनमा ल्याइनु पनि एउटा विचित्र ऐतिहासिक संयोग थियो । जसको परिणाम युरोपेलीहरुले उक्त चाँदीको सहाराले चिनिया मालसामान किन्न सक्ने भए । उनीहरुले भारतीय उपमहाद्वीपसित सुरुमा मसला र त्यसपछि सुतीका कपडाको खरिदबाट व्यापार सुरु गरे । आज चीन अमेरिकी डलरको ‘भण्डरणदेश’ भएजस्तै त्यतिबेला चीन र भारतीय उपमहाद्वीप युरोपेली चाँदीका सिक्कामय भए । त्यसैगरी, अठारौं शताब्दीसम्म आइपुग्दा के भइदियो भने, बेलायत र चीन दुवै इन्धनको नयाँ स्रोतको खोजीमा थिए । मानवीय र पशुबलको उपयोगले मात्रै बढ्दो जनसंख्याका लागि पर्याप्त उत्पादन हुन सक्थेन । यसक्रममा लगभग एकै समयमा चिनिया र बेलायतीहरुले कोइलाको खानी पत्ता लगाएका थिए । तर, संयोग के भयो भने बेलायतमा कोइलाको खानी मानववस्तीको नजिक फेला प¥यो जसले गर्दा त्यसको उपयोग आर्थिक दृष्टिले लाभदायी हुने भयो जबकि चीनमा त्यस्तो खानी दुर्गम क्षेत्रमा फेला प¥यो । यसले गर्दा बेलायतीहरु चिनियाभन्दा पहिले औद्योगिक क्रान्ति गर्न सफल भए । औद्योगिक क्रान्तिले युरोपेलीहरुको अवस्थालाई निकै बलियो बनाइदियो ।
ठीक त्यहीबेला भारतमा मुगलहरुको साम्राज्य आन्तरिक कलह र बढ्दो तानाशाही प्रवृत्तिका कारण निकै कमजोर भइसकेको थियो । त्यही मौका छोपेर बेलायतीहरुले सशस्त्र बलमा भारतमा व्यापारलाई झनै विस्तार गरे र अन्ततः भारतीय उपमहाद्वीपलाई आफ्नो उपनिवेश बनाए । म्यान्चेस्टरमा बनेको सस्तो सुती कपडाले भारतीय उत्पादनको बजारलाई निलिदियो । एकतर्फी व्यापार र माक्र्सका शब्दमा, सस्तो भाउको ‘तोप’ प्रयोग गरेर भारतको सुती कपडाका उद्योग ध्वस्त पारियो । त्यसैगरी, चीनमा पनि बेलायतीहरुले सशस्त्र आक्रमणलाई बढाए । अफिम युद्धमा चीनको पराजय भएपछि उसमाथि असमान व्यापार सन्धि लादियो । अफिमको नशामा चीनको ठूलो जनशक्ति बेकम्मा भयो र चिनियाहरुको प्रतिरोध क्षमतामा ठूलो ह्रास आयो ।
त्यसपछि, चीनलाई औपनिवेशिक बुटमुनि थिच्ने क्रम सुरु भयो । भारतमा अफिम उत्पादन गरेर चीनमा विक्री गरियो । भारतमा उत्पादन गरेको चिया बेलायत पु¥याइयो । अफ्रिकाली जनतालाई कब्जा गरेर दास बनाइयो र ती दासहरुलाई क्यारिवियनमा उखुका फार्महरुमा कोर्राको बलमा काम लगाइयो । यसबाट बेलायतीसँगै युरोपेलीहरुको पुँजीसञ्चय आकाशियो जसले युरोपेली लगानी र पुनःलगानीको वातावरण झन् फराकिलो हुँदै गयो । यसरी विश्व पुँजीवाद एवम् साम्राज्यवादको विकास र पश्चिमा शक्तिहरुको उदय एकअर्कासित अभिन्न रुपमा गाँसिएका छन् । छोटकारीमा भन्नुपर्दा पश्चिमको उदयको जरो पूर्वमा थियो र यो केही अन्य कारणका बाबजुद एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा गरिएको आमसंहार, औपनिवेशीकरण, दासता र लुटमा आधारित थियो भन्ने अब विश्व इतिहासका जानकार कसैबाट छिपेको छैन ।
चीनको पुनःरागमन
प्रख्यात अर्थशास्त्री एवम् एसियाली जनताका मित्र ए.जी. फ्रयाङ्कले उनको प्रसिद्ध पुस्तक रिओरियन्टमा पश्चिमको उदयलाई ‘क्षणिक’ भनेका थिए । आज त्यो साँचो साबित भएको छ ।
चीन आज विश्वको एक नम्बर अर्थतन्त्र बनेको पक्कै पनि युरोपको उदयको क्रममा भएकाजस्तो औपनिवेशीकरणको बाटोबाट होइन । बरु उपनिवेशबाट मुक्तिको बाटोबाट हो । यसकारण, युरोप र अमेरिकाको तुलनामा चीनको उदय बढी मानवीय बाटोबाट भएको छ । र, यो अनुकरणीय पनि छ । सन् १९४९ मा माओको नेतृत्वमा चीनमा जनवादी व्यवस्थाको स्थापना र माओकालमा चिनिया समाजमा भएको वितरणको सपेक्षित समानताको जगमा देङ् सिआओ पिङका पालादेखि लिइएको केही फरक प्रकारको आर्थिक नीतिका कारण गएका तीन दशकमा चीनको यो आर्थिक उन्नति हुन सकेको हो ।
अमेरिकाको नेतृत्वमा पश्चिमाहरुले नियन्त्रणका हर उपाय अपनाउँदा र दोस्रो विश्वयुद्धपछि बनेका राष्ट्र संघ, विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष एवम् अन्य अन्तर्राष्ट्रिय संस्थामार्फत् चीनलाई हैरानपरेसान पार्ने खेल हुँदाहुँदै पनि उसले यति छोटो समयमा यस्तो उन्नति गर्न सक्नु चानचुने कुरा होइन । यसको अर्थ चीनका अगाडि कुनै चुनौती नै छैनन् भन्ने चाहिँ होइन ।

चीनका चुनौतीहरु
पहिलो कुरा त के हो भने चीन आज विश्वको एक नम्बर अर्थतन्त्र भए पनि अमेरिका अझै पनि विश्वको महाशक्ति हो । अमेरिकापछिका अन्य १० वटा देशको सैन्यबल जोड्दा पनि अमेरिकाको सैन्य शक्तिलाई भेट्न मुस्किल छ । सैनिक बल अमेरिकाको सबभन्दा ठूलो शक्ति हो । त्यसैगरी, विसौं शताब्दीको पहिलो दशकदेखि यता विश्वको ज्ञान उत्पादनको केन्द्र पनि अमेरिका नै बनेको छ । अमेरिकी ‘समाज विज्ञान’ अमेरिकी साम्राज्यवादको बलियो टेको बनेको छ । ज्ञान र शक्ति एकअर्कासित अभिभाज्य रुपमा गाँसिएका हुन्छन् । त्यसअर्थमा ‘सफ्ट पावर’ मा पनि अझ पनि अमेरिका नै माथि छ ।
चीनको लागि अर्को चुनौती भनेको आफ्नै देशभित्र रहेको असमानता हो । पछिल्लो समयमा करोडौं जनसमुदायलाई गरिबीको रेखामुनिबाट माथि उकास्न सफल भए पनि चिनमा अद्यापि विद्यमान बढ्दो असमानले उसको समाजवादको नारालाई गिज्याइरहेको प्रतीत हुन्छ । तर, यसका बाबजुद सकारात्मक कुरा के छ भने चिनिया नेतृत्वले पछिल्लो समयमा उक्त असमानता हटाउनतर्फ राज्यको नीतिलाई केन्द्रित गर्ने कोशिस गरिरहेको चिनिया सरकारी सञ्चारमाध्यमको दाबी छ ।
चीनको राज्यव्यवस्था वा राजनीतिक प्रणाली कमजोर छ भन्ने चाहिँ सत्य होइन । छिमेकी भारतले विगतसँग सम्बन्ध विच्छेद गर्न सकेको छैन । तर, चीनले इतिहाससँग सन् १९४९ मा सम्बन्ध विच्छेद गरेको छ । त्यस हिसाबले चीनको राजनीतिक प्रणाली बढी बलियो छ । चिनिया संग्रालयहरुमा गयो भने मुक्तियुद्धका प्रतीकहरु र साम्राज्यवादी शोषण र लुटलाई झल्काउने सामाग्रीहरु पाइन्छन् । तर, भारतको राष्ट्रपति भवनकै संग्राहलायमा जाने हो भने पनि त्यहाँ बेलायती भाइसरोयहरुको गुणगानको गन्ध आउँछ र भगत सिंह, सुवस चन्द्र बोस, चन्द्रशेखर आजादलगायतका क्रान्तिकारीहरुलाई कुनै स्थान छैन । बेलायती अत्याचारलाई जनाउने कुनै चीज त्यहाँ पाइन्न । अम्रितसरमा बेलायतीहरुले गरेका आमहत्या वा सिपाही विद्रोहको बारेमा केही छैन तर प्ल्यासेमा बेलायतीले फ्रान्सेलीहरुलाई हराएको बारे सिमुलेसन त्यहाँ छ । यो भन्दा लाजमर्दो अरु के हुन सक्छ । यस हिसाबले चीनको राजनीतिक प्रणाली भारतको भन्दा बलियो छ ।
सारमा भन्नुपर्दा, चीनको पुनःरागमन हामी एसियालीहरुको लागि खुसीको खबर हो । यो एसियाली शताब्दीको सुरुआतको संकेत हो भन्दा अत्युक्ति नहोला ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us