
काठमाण्डु– सधैंजसो मानिसहरुको भिडभाड भइरहने काठमाण्डुको दरबारमार्गस्थित नाङ्लो बेकरी क्याफे आसपासको वातावरण सोमबार शान्त थियो ।
शान्त मात्र थिएन, बाहिरबाटै हेर्दा आकर्षक लाग्ने रेष्टुरेण्टको साजसज्जा केही बाँकी थिएन । किनकी केही मानिसहरु रेष्टुरेन्टका सबै पुराना सामान उठाइरहेका थिए । छानो भत्काइएको थियो । दुईदिन अघिजस्तो झिलीमिली वातावरण थिएन ।
गार्डेन उजाड देखियो । दरबारमार्गमा ३८ वर्षदेखि सञ्चालित नाङलो क्याफे व्यवस्थापनले आइतबार एक्कासि सूचना टाँग गरेर बन्द भएको घोषणा गरेको थियो ।
घर भाडामा लिएर सञ्चालन गरिएको नाङलो व्यवस्थापले घर भाडाबापतको रकम बुझाउन नसकेपछि व्यवस्थापनले क्याफे बन्द गरेको बुझिएको छ । नाङ्लोमा नेपालको उच्च घरानिया वर्ग र विदेशी पर्यटक खानाका परिकारको स्वाद लिन जाने गर्थे ।
रेष्टुरेन्ट बन्द भएको विषयमा जानकारी नपाएका कतिपय ग्राहक सोमबार पनि आएका थिए ।
नाङलोको बोर्ड भत्काउँदै निकाल्न थालेको देखेर त्यहाँ आएका कर्मचारी तथा व्यवस्थापनका व्यक्तिहरु निराश देखिन्थे । उमेर ढल्केका तथा कापाल फुलेका एक कर्मचारीले आँसु झार्दै भने, ‘मैले यो रेष्टुरेन्टमा काम गरेको झण्डै १७ वर्ष भयो तर यस्तो दिन आउला भन्ने सोचेको पनि थिइन ।’
नाङलो व्यवस्थापनले नयाँ घर खोजेर दबारबार मात्र क्षेत्रमै पुनः रेष्टुरेन्ट सञ्चालनमा ल्याउने बताएको छ ।
तस्वीरहरु÷राज श्रेष्ठ