धनगढी, ७ पुस–कैलालीको कुलरिया कुलोबाट सिञ्चित हुने रानी र जमरा क्षेत्रमा बीज वृद्धि कार्यक्रम विस्तार गर्न स्थानीय कृषकलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गरिएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा सञ्चालित कृषि कार्यक्रमअन्तर्गत बीज वृद्धि कार्यक्रमका लागि स्थानीय कृषक समूह र सहकारी संस्थालाई बीउ वितरण गरिएको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका कार्यक्रम संयोजक कुलप्रसाद तिवारीले बताए ।
बीज वृद्धि कार्यक्रमका लागि यस वर्ष ५० हेक्टर जग्गामा पुग्ने गरी करिब एक सय २० क्विन्टल गहुँको बीउ, १५ हेक्टर जग्गामा पुग्ने गरी २२ टन कार्डिनल जातको आलुको बीउ वितरण गरिएको तिवारीले बताए ।
कार्यक्रमअन्तर्गत ब्लक प्रदर्शनका लागि समेत गहुँ र तोरी बालीको बीउ कृषकलाई वितरण गरिएको छ । ५० हेक्टर जग्गामा गहुँ र तोरीको ब्लक प्रदर्शन कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।
कृषि कार्यक्रमअन्तर्गत नै यस वर्ष ३० हेक्टर जग्गामा केराखेती, १५ हेक्टरमा आँपखेती, १३ हेक्टरमा कागती र १२ हेक्टरमा अनारखेती गर्न बिरुवा निःशुल्क रुपमा वितरण गर्ने लक्ष्य लिइएको छ ।
केरा, आँप, अनार, कागती खेती विस्तारका लागि करिब दुई करोड ५० लाख बजेट विनियोजन गरिएको तिवारीले जानकारी दिए ।
यसैगरी यस वर्ष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत एक सय ५० जना युवालाई तरकारी, च्याउ, मौरीपालनलगायतका आयमूलक व्यवसाय सञ्चालन गर्न करिब ९० लाख अनुदान रकम उपलब्ध गराउन लागिएको छ ।
सञ्चालित कृषिसम्बन्धी कार्यक्रमबाट उक्त क्षेत्रको परम्परागत रानी, जमरा र कुलरिया कुलोबाट सिञ्चित हुँदै आएको १४ हजार हेक्टर जग्गाका करिब एक लाख ६० हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । रासस