इलाममा सहकारीले गर्योे डेढ करोड ठगी

काठमाण्डु टुडे २०७१ पुष ७ गते ११:०० मा प्रकाशित

इलाम, ७ पुस–सूर्याेदय नगरपालिकाको फिक्कलस्थित फिक्कल बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारण र व्यवसायीबाट डेढ करोडभन्दा बढी रकम ठगी गरेको रहस्य खुलेको छ ।

nepali money

सर्वसाधारण तथा व्यवसायीले संस्थामा जम्मा भएको आफ्नो रकम माग गर्न थालेपछि यस्तो रहस्य खुलेको हो ।

रकम हिनामिना भएको भन्दै डिभिजन सहकारी कार्यालय इलाममा सर्वसाधारणले गुनासो गरेपछि डिभिजन सहकारी कार्यालयले छानबिन गरी संस्था, सङ्कलक, व्यवस्थापक, सञ्चालक समिति गरी ६४ जनाविरुद्ध डेढ करोड ठगी गरेको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

सहकारीको नामबाट गरिबी न्यूनीकरण कार्यक्रम चलाएर रकम ठगी गर्नेविरुद्ध कारबाहीको माग गर्दै डिभिजन सहकारी कार्यालयले प्रहरीमा प्रतिवेदन पेस गरेको हो ।

झापाको काँकडभिट्टामा मुख्य कार्यालय भएको गरिबी न्यूनीकरण कार्यक्रमको शाखा कार्यालय स्थापना गरेर सर्वसाधारण र व्यवसायीबाट रकम सङ्कलन गरी ठगी गरिएको छानबिनका क्रममा भेटिएको कार्यालयले जनाइएको छ ।

फिक्कल बचत तथा ऋण सहकारी संस्थाको पासबुकबाट ५५ लाख ३१ हजार ६ सय ६३ र गरिबी न्यूनीकरणको पासबुकबाट ९५ लाख ५९ हजार ६ सय ३२ गरी कुल एक करोड ५० लाख ९० हजार सात सय ९५ ठगी भएको छानबिनका क्रममा भेटिएको सहकारी कार्यालयका कर्मचारी देवेन्द्र राईले बताए ।

सहकारीका व्यवस्थापक, ११ जनाको सञ्चालक समिति र ५२ जना सङ्कलनकर्ताविरुद्ध प्रहरीमा प्रतिवेदन दिइएको छ । डिभिजन सहकारी कार्यालयको संयोजकत्वमा जिल्ला सहकारी सङ्घका प्रतिनिधि सदस्य र एकजना सहकारी विज्ञसहितको छानबिन समितिले सबै अध्ययन गरीे प्रहरीमा प्रतिवेदन बुझाएको हो ।

सहकारीले प्रतिवेदन बुझाएपछि छानबिन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताउनुभयो । फरार रहेका सहकारी सञ्चालक समितिका उपाध्यक्ष राईसहित अन्यको खोजी भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us