पाँच जातका मकै बीउ उन्मोचनको तयारी

काठमाण्डु टुडे २०७१ पुष ६ गते ११:२० मा प्रकाशित

बनेपा, ६ पुस–राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातसहित थप पाँचवटा जातको मकैको बीउ उन्मोचनको तयारीका लागि सिफारिस गरेको छ ।

images

यसअघि सातवटा जातको मकैको बीउ उन्मोचन भइसकेको छ । नयाँ जातको मकैको बीउ उन्मोचनसँगै हाइब्रिडसहित मकैका जातको सङ्ख्या १३ पुग्ने छ ।

पहाडी मकैबाली अनुसन्धान परियोजनाको आर्थिक सहयोगमा ल्याउन लागिएको मकैको बीउ राष्ट्रिय बीउबिजन नियन्त्रण गुणस्तर केन्द्रमा निर्माण भएको प्राविधिक उपसमितिले सिफारिस पास गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार अरुण तीन, अरुण चार अरुण छ, हाइब्रिड जातका रामपुर चार र रामपुर छ रहेका छन् ।

यी सबै जात कृषकका खेतबारीमा परीक्षण गरेर उन्मोचन गर्न लागिएको जानकारी दिँदै डा. कोइरालाले यस आर्थिक वर्षको अन्त सम्ममा उन्मोचन हुन्छ बताए ।

उनले भने ‘त्यसका लागि अन्तिम गृहकार्य भइरहेको छ, यी जातका मकै कृषकको खेतमा छिटो पाक्ने छ र दाना र खाना दुबैका लागि उपयुक्त रहने छ ।’

अब आउन लागेको हाइब्रिड जातको नयाँ मकैको बीउ चाडै ९५ दिनको अवधिमा नै पाक्छ जसले गर्दा कृषकलाई धानबाली लगाउनसमेत सहयोग पुग्छ अनुसन्धान कार्यक्रमका संयोजक डा. कोइरालाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us