झापाको सहकारीमा ३० लाख हिनामिना

काठमाण्डु टुडे २०७१ पुष ६ गते ११:०५ मा प्रकाशित

दमक, ६ पुस–झापाको लखनपुर १ स्थित मङ्गलमय बचत तथा ऋण सहकारी संस्थामा लाखौँ रुपैयाँ हिनामिना भएको खुल्न आएको छ ।

nepali money

निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थामा लाखाँै रुपैयाँ हिनामिना भएको घटना बाहिर आएको हो । निक्षेपकर्ताको रकम फिर्ता दिन नसकेपछि एक महिनादेखि संस्थाको लखनपुर १ स्थित पाडाजुङीको कार्यालय बन्द रहेको छ । कार्यालय बन्द भएपछि संस्थाका सयाँै सेयर सदस्यको सम्पत्ति थप जोखिममा परेको हो ।

स्रोतका अनुसार संस्थाको स्थापनाकालदेखि नै सञ्चालक समितिका अध्यक्ष चन्द्रमणि अधिकारी, सदस्य घनश्याम प्याकुरेल, व्यवस्थापक युवराज खड्कालगायतकाले संस्थाका सदस्यलाई प्रभावमा पारेर लाखौँ रुपैयाँ रकम नियमविपरीत लगेको खुल्न आएको हो ।

विसं २०६४ मा खोलिएको सो सहकारीले हालसम्म आउँदा संस्था आर्थिक रुपमा सबल हुनसमेत नसकेको अवस्थामा संस्थामा भएको आर्थिक बदमासीले सर्वसाधारणको निक्षेप जोखिममा पारेको छ ।

संस्थाका निक्षेपकर्ता लखनपुर १ का टेकनाथ अधिकारीले आफूले बचत गरेको रकमसमेत फिर्ता पाउन नसकेको बताउछन् । संस्थामा आयो कार्यालय बन्द छ, उनले भने, ‘बचत कर्ताको रकम उठाउन कानुनी निकायमा जानुपर्ने स्थिति भएको छ ।’

संस्थामा हाल देखिएको आर्थिक अपचलन करिब ३० लाख रहेको उल्लेख छ । संस्थामा देखिएको अनियमितताको आर्थिक कारोबार बाहिर आएपछि संस्थाभित्र जोखिम सुल्झाउन पहल थालिएको बुझिएको छ ।
सो संस्थामा दुई सय पाँच जना सेयर सदस्यहरु छन् भने सेयर पुँजी १२ लाख र ४० लाख निक्षेप रहेको उल्लेख छ । तीमध्ये संस्थाले ऋण लगानी गरेको भनिएको करिब २२ लाख भए पनि असुलीसमेत प्रभावकारी नहुँदा संस्था झनै समस्यामा परेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us