सोलुखुम्बुमा चोरी भए डेढ लाखका कुखुरा

काठमाण्डु टुडे २०७१ पुष ६ गते ८:५६ मा प्रकाशित

सोलुखुम्बु, ६ पुस–सोलुखुम्बुको सदरमुकाम दूधकुन्ड नगरपालिकामा रहेको पोल्ट्री फार्मबाट शनिबार राति ७० वटा कुखुरा चोरी भएको छ ।

index

रातको समयमा करिब तीन केजी दरका गिरिराज जातका ७० वटा कुखुरा चोरी भएको फार्म सञ्चालक डिबी किराँतीले जानकारी दिए ।

उनका अनुसार राति ९ बजे फार्मबाट फर्किएको र बिहान जाँदा कुखुरा हराएको पाइएको हो । सल्लेरीको बजार मूल्यअनुसार करिब डेढ लाखबराबरको कुखुरा चोरी भएको सञ्चालक किराँतीले बताए ।

कुखुरा हराएको सम्बन्धमा प्रहरीले स्थलगत मुचुल्का तयार गरेको छ । फार्मबाट कुखुरा हराएकाले लैजान सक्ने सम्भावित क्षेत्रमा खोजी तीव्र बनाइएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सो फार्मबाट दुई महिनाअघि पनि ३० वटा कुखुरा हराएका थिए । त्यसबेला पनि कुखुरा कसले चो¥यो भन्ने केही पत्ता लागेको थिएन । एक वर्षअघि सदरमुकाममा सुरु भएको सो पोल्ट्री फार्म नेकपा–एमाले राष्ट्रिय परिषद् सदस्य डिबी किराँतीले सुरु गरेका हुन् ।

सदरमुकामको बजारबीचमा रहेको फार्मबाट एकैपटक ७० वटा कुखुरा हराउनु र त्यसबारेमा प्रहरी तथा अरुले केही जानकारी पाउन नसक्नुले सुरक्षा कमजोर भएकोसमेत किराँतीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us