
काठमाण्डु, ५ पुस–अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी) ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर लगानी गर्ने भएको छ ।
उक्त आयोजनामा लगानी गर्नेसम्बन्धी सम्झौतामा आगामी सोमबार प्रवद्र्धक कम्पनी ग्रान्धी मल्लिकार्जुन राव र आइएफसीबीच सम्झौता हुने भएको छ ।
अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थमन्त्रालयमा भेटेर नेपालका लागि आइएफसीका देशीय प्रबन्धक काइल केलहोफरले उक्त जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार आयोजनालाई स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै केलहोफरले मन्त्री महतलाई आगामी सोमबार सेयर लगानीसम्बन्धी सम्झौता गर्न लागेको जानकारी दिए ।
आइएफसीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर केही स्रोतको सुनिश्चितता गर्ने जानकारी दिँदै प्रबन्धक केलहोफरले माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा पनि लगानी गर्ने दृढता व्यक्त गरे । रासस