५० लाखको लागतमा भैँसी संरक्षण फार्म

काठमाण्डु टुडे २०७१ पुष ५ गते ११:२१ मा प्रकाशित

बनेपा, ५ पुस–काभ्रेपलाञ्चोकको ढुंखर्क गाविस–२ का बेदप्रसाद तिमिल्सिना थारा भैँसीको संरक्षण गरेर दोब्बर आम्दानी लिन थालेपछि दङ्ग परेका छन् ।

index

जिल्लामा दूधको उत्पादन घटेपछि कृषकले उत्पादनशील थारा भैँसीको बिक्री गरेपछि त्यसको विरुद्धमा उनले काट्नका लागि लैजाने लागिएका उत्पादनशील भैँसी ५० हजारदेखि ८० हजारसम्म खरिद गरेर त्यसको उपचार गरी दुहुना भैँसी बनाई ६० हजारदेखि ८९ हजारसम्ममा बिक्री वितरण गरेको बताए ।

केन्द्रीय गाईभैँसी प्रवद्र्धन कार्यक्रम र जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा ५० लाखको लागतमा उत्पादनशील थारा भैँसी संरक्षणका लागि थानी महाकाल नमुना पशुपालन फार्म नै सञ्चालन गरेका कृषक तिमिल्सिनाले फार्ममा थारा र दुहुना गरी करिब २७ वटा भैँसी पालेका छन् । यसलाई बढाएर ५० वटा बनाउने लक्ष्य लिएको उनले बताए । जिल्लाको ढुंखर्क क्षेत्रलाई पशुपालनको पकेट क्षेत्रका रुपमा मानिन्छ ।

झन्डै एक सय १० रोपनी क्षेत्रफलमा परम्परागत रुपमा डाले घाँसको खेतीसमेत गरेका उनले अब व्यावसायिक घाँसखेतीसमेत गरिने जानकारी दिए ।

पशु उत्पादनशील निर्देशनालयका डा लोकनाथ पौडेलले थारा भैँसीको संरक्षणका लागि यस्तो अभियान सञ्चालन भएको जानकारी दिँदै भारतले भैँसी नेपाल ल्याउन रोक लगाएकाले चोरी, तस्करीका माध्यमबाट मात्रै भैँसी आएको बताए ।

जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख डा सम्झना काफ्लेले घाँसमा आधारित भएर पशुपालन गर्न सुझाव दिँदै उत्पादन क्षमता भएका पशुको संरक्षण सबैका लागि चासोको विषय भएको बताउइन् ।

काभ्रेपलाञ्चोकमा झन्डै एक लाख २० हजार भँैसी रहेको तथ्याङ्क छ । जिल्लामा गाई र भैँसीबाट कुल दुई लाख लिटर दूध उत्पादन भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us