
काठमाण्डु, ५ पुस–गत साता दोहोरो अङ्कले बढेको नेप्सेमा यो साता पुनः ६.१२ अङ्कले ओरालो लागेर अन्तिम दिन ९०३.८९ अङ्कमा पुगेको छ । लामो समयपछि गत साता नेप्सेमा सुधार आएको थियो ।
नेपाल स्टक एक्सचेन्जमा एक सय ६७ कम्पनीको नाँै हजार ४१९ कारोबारबाट एक अर्ब १४ करोड ३० लाख ३६ हजार बराबरका ३२ लाख २९ हजार ९६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४२.४९ प्रतिशत बढी हो ।
गत साता १६३ कम्पनीको कारोबार आठ हजार ३६ कारोबारबाट ८० करोड २१ लाख ९८ हजार बराबरका २२ लाख १७ हजार नौँ सय ९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यसैगरी समूहगत परिसूचकको उतारचढाबमा विकास बैंक, वित्त, होटल र उत्पादनमूलक समूहको परिसूचकमा सकारात्मक परिवर्तन आएको छ भने वाणिज्य बैंक, बिमा, जलविद्युत्, व्यापार र अन्य समूहको परिसूचकमा भने नकारात्मक रहेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.४९ अङ्कले घटेर १८६.७३ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । रासस