बुटवल, ५ पुस– रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाण्डुको संयुक्त आयोजनामा बुटवलमा यही पुस ७ गतेदेखि तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।
‘स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा पशुपतिनाथ मन्दिर आकृतिको प्रवेशद्वार राखिने छ ।
यस वर्ष आयोजना हुने महोत्सवमा कृषि उद्योगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम बनाइने संघका प्रथम उपाध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए ।
पन्ध्र दिनसम्म चल्ने महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि बुटवल–लुम्बिनी र बुटवल–नुवाकोट पर्यटन कार्यक्रम तथा लुम्बिनी अञ्चलका पर्यटकीयस्थलको तस्बिर प्रदर्शनीसमेत हुने छ ।