
रुपन्देही, ४ पुस– ट्रक व्यवसायीले लागू गरेको आलोपालो प्रणाली खारेजीको माग गर्दै उद्योगी व्यवसायीले स्थानीय प्रशासनमा ज्ञापन बुझाएको हप्ता दिन बितिसक्दा पनि प्रशासनले अहिलेसम्म कुनै चासो देखाएको छैन । सरकारले निर्धारण गरेको भाडाभन्दा बढी रकम दिँदा पनि ट्रक व्यवसायीले ट्रक नदिँदा बजारमा भाडाका लागि ट्रकको कृत्रिम अभाव सिर्जना भएको छ ।
१० टन ढुवानीका लागि १८ हजार रुपैयाँ तिर्दै आएका यहाँका उद्योगी तथा व्यवसायीले २५ हजार तिर्दासमेत ट्रक पाएका छैनन् । भैरहवा–काठमाण्डु मालबाहक सवारी सञ्चालनमा आलोपालो प्रणाली कायमै छ । ढुवानी व्यवस्थापनका नाममा पश्चिमाञ्चल यातायात व्यवसायी समिति तथा लुम्बिनी ट्रक यातायात व्यवसायी संघले गत मंसिर १४ देखि नया“ ढुवानी प्रणाली लागू गरेपछि बजारमा ट्रकको अभाव भएको हो ।
ट्रक अभावका कारण यहाँको भैरहवा–लुम्बिनी करिडोरमा रहेका दुई दर्जनभन्दा बढी उद्योगको उत्पादन ६० प्रतिशत घटेको छ भने मुख्य गल्ला बजार गल्लामण्डीका व्यवसायीले खाद्यान्नलगायतका सामान विगत एक हप्तादेखि लान पाएका छैनन् । एक हप्ता अगाडिदेखि सामान लानका लागि ट्रक खोज्दासमेत ट्रक नपाएको स्थानीय व्यवसायी कमलप्रसाद मरासिनीले जानकारी दिए ।
आलोपालो प्रणालीअन्तर्गत एउटा ट्रकले महिनाको पाँच ट्रिपमात्र सामान लाग्न पाउ“छ । ढुवानी प्रणाली लागू नहु“दा त्यही ट्रकले कम्तीमा आठ ट्रिपसम्म सामान ढुवानी गथ्र्यो । यातायात व्यवसायीले ट्रकको अभाव देखाएर भाडा वृद्धि गर्न नया“ प्रणाली लागू गरेको यहाँका उद्योगी व्यवसायीको भनाइ छ । ‘सिमेन्ट, डन्डी, पाइप, खाद्यान्नलगायत वस्तुको उत्पादन कटौती भएको छ’, पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका महासचिव विदुर ढुंगानाले भने, ‘ट्रक अभावमा ढुवानी हुन नसक्दा उद्योगमा भण्डारणको समस्यासमेत बढेको छ ।’ यसले सरकारलाई दैनिक ३० देखि ४० लाखसम्म राजस्व घाटा भएको ढुंगानाको दाबी छ ।
उत्पादन कटौती हु“दा सरकारले मूल्य अभिवृ्द्धि कर र अन्तःशुल्कबाट आउने राजस्व गुमाएको छ । मुलुकको आयात निर्यातको प्रमुख नाका तथा निर्माण र खाद्यान्नका दर्जनौं उद्योग भएको भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोरमा दैनिक हजारभन्दा माथि ट्रक आवश्यक पर्छ । १४ गते अगाडि प्रत्येक उद्योग परिसरमा ५० देखि सय वटासम्म ट्रक हुनेमा व्यवसायीको आलोपालो प्रणालीपछि उद्योग परिसरमा ४÷५ वटा ट्रक पनि नभएको बृज सिमेन्टका महाप्रबन्धक रविरञ्जन कुमारले बताए । खुलेआम रुपमा आलोपालो प्रणाली लागू हुँदा पनि प्रशासनले केही कारबाही गर्न नसक्नु लाजमर्दाे भएको उनको गुनासो छ ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाका अध्यक्ष विष्णु खरेलले उद्योगीले सरकारले तोकेकोे भाडा नदिँदा आफूहरूले ट्रक दिन नसकिएको बताए । अध्यक्ष खरेलले समितिसँग गाडी मागे तुरुन्त पठाइदिने पनि बताए । ट्रान्सपोर्टका कारण ट्रकले भाडा नपाएको उनको आरोप छ ।
खुला प्रतिस्पर्धा हुनुपर्ने बजारमा आलोपालो प्रणाली गरी प्रतिस्पर्धा हुन नदिने कार्य व्यवसायीका लागि स्वीकार्य नहुने तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले बताए । अहिलेको प्रतिस्पर्धी बजारमा आलोपालो प्रणालीले उद्यमी, व्यवसायी, उपभोक्ता सबैलाई नोक्सान गर्ने उनले उल्लेख गरे । स्थानीय प्रशासनले आलोपालो प्रणालीलाई तत्काल हटाउनुपर्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले कुपन बोकेर सामान नबोक्ने ट्रक धनीबाट कारबाहीको सुरुवात गर्ने बताए । उनले दुवै पक्षबीच छलफल गराउने र छलफल सफल नभए कारबाही प्रक्रियामा जाने जानकारी दिए । रासस