एकै गाउँमा पौने दुई करोडको सुन्तला

काठमाण्डु टुडे २०७१ पुष २ गते ११:१२ मा प्रकाशित

चितवन, २ पुस–चितवनको सुन्तला पकेट क्षेत्रमध्येको एक दारेचोक गाविस–१ र ५ मा रहेको एकै गाउँमा एक करोड ७५ लाखको सुन्तला उत्पादन भएको छ ।

images

दारेचोकको तोकदाङ क्षेत्रमामात्रै करिब ५० हेक्टर क्षेत्रमा सुन्तलाखेती भइरहेको छ । जिल्ला कृषि कार्यालय चितवनले सो क्षेत्रलाई सुन्तला पकेट क्षेत्र मान्दै आएको कृषि अधिकृत शिवराज पौडेलले बताए ।

अघिल्लो वर्ष रु १५ लाखको सुन्तला बेचेको थिएँ, कृष्णबहादुर गुरुङले भने, “सुन्तलाले आम्दानी बढेको छ ।” अहिले कृष्णबहादुरको बगानमा छ सय सुन्तलाका बोट छन् ।

यहाँका किसानले एक आर्थिक वर्षमा कम्तीमा चारदेखि बढीमा २० लाखसम्म सुन्तलाबाट आम्दानी लिने गर्दछन् ।  चितवनमा २४५ हेक्टर क्षेत्रफलमा सुन्तला र कागती उत्पादन हुँदै आएको छ ।

म्याग्दीमा सुन्तला बिक्रीबाट २० लाख आम्दानी

म्याग्दी, २ पुस–म्याग्दीको बेनी नगरपालिका–१३ बास्कुनाका किसानले यो वर्ष २० लाख बढीको सुन्तला निर्यात गरेका छन् ।

अन्नबालीको विकल्पमा व्यावसायिक सुन्तलाखेती विस्तार गरेका स्थानीय कृषकले उत्पादन गरेको सुन्तला काठमाण्डु निर्यात भएको हो ।

काठमाण्डुको कालीमाटीस्थित मण्डी सञ्चालक भरत खनालसँगको सहकार्यमा गाउँभरी उत्पादन भएको २८ टन सुन्तला निर्यात गरिएको बास्कुना सुन्तला उत्पादक कृषक समूहका अध्यक्ष भीम थापाले जानकारी दिए ।

बास्कुनामा अहिले सात हजार पाँच सय वटा सुन्तलाका बोट विस्तार गरिएको छ । गत वर्ष रु १७ लाख बराबरको सुन्तला निर्यात भएकोमा यो वर्ष सुन्तलाको मूल्य बढेपछि कृषकले बढी मुनाफा गर्न सफल भएका हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us