
पर्सा, २ पुस–नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले पर्साको उदयपुरघुर्मी र हरपतगन्जबाट बल्सी लगाई विद्युत् चोरी गरिरहेको अवस्थामा बुधबार ११ जनालाई पक्राउ गरेको छ ।
केन्द्रले सुुरु गरेको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरुलाई विद्युत् प्राधिकरण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरघुर्मीका महन्थ साह, किसननाथ पटेल, सन्दीप साह गोड, कासी राउत र श्रीराम भर छन् भने हरपतगन्जका रामबाबु राम, निराशन ठाकुर, राजेश राय, वीरेन्द्र यादव, दीपनारायण कुर्मी र जयरामप्रसाद कुर्मी रहेका छन् । उनीहरुलाई एक लाख १६ हजार ३५८ जरिवाना गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बल्सी लगाई विद्युत् चोरी गरिरहेकाको घरबाट चार थान टेलिभिजन सेट तथा एक एक थान मोटर र सिडी प्लेयरसमेत जफत गरिएका छन् ।
“विद्युत् चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा सशक्त ढङ्गले अगाडि बढाएको छु”–केन्द्रका प्रमुख इन्जिनियर ऋषिकुमार वर्णवालले भने । रासस