धान र मकै घट्यो, कोदो र फापर बढ्यो

काठमाण्डु टुडे २०७१ पुष १ गते १२:०० मा प्रकाशित

काठमाण्डु, १ पुस–चालु आर्थिक वर्षमा धानको उत्पादन पाँच दशमलव १ प्रतिशतले घटेको प्रारम्भिक अनुमान कृषि विकास मन्त्रालयले गरेको छ ।

images

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा त्यो घटेर ४७ लाख ८८ हजार मेट्रिक टन हुने अनुमान गरिएको जानकारी दिइयो ।

चालु आर्थिक वर्षमा १४ लाख २५ हजार ३४६ हेक्टर जमिनमा धानखेती गरिएको छ जुन गएको आर्थिक वर्षमा भन्दा चार दशमलव एक प्रतिशत कम क्षेत्रफल हो ।

धानको उत्पादन घट्नुको मुख्य कारण रोपाइँ हुन नसकी बाँझो रहेको जमिन तथा ढिलो मनसुन हुनु रहेको कृषि मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिए ।

गत आर्थिक वर्ष एक लाख ५० हजार मेट्रिक टन चामल भारत लगायतका मुलुकबाट नेपाल निर्यात गरिएको र त्यसका लागि रु १३ अर्ब मुलुकबाट बाहिरिएको थियो ।

धान जस्तै मकै पनि गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा ६ प्रतिशतले उत्पादन घटेको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ । यसवर्ष २१ लाख ४५ हजार २९१ मेट्रिक टन मकै उत्पादन भएको अनुमान गरिएको छ ।

प्रतिकूल मौसम र रोग किराको प्रकोपका कारण यस वर्ष मकैको उत्पादन घटेको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत हेमराज रेग्मीले जानकारी दिए ।

चालु आर्थिक वर्ष आठ लाख ८२ हजार ३९५ हेक्टरमा मकैखेती गरिएको छ, जुन गत आर्थिक वर्षको भन्दा पाँच प्रतिशत कम क्षेत्रफल हो ।

बर्खेबालीअन्तर्गतका कोदो र फापरको उत्पादन भने चालु आर्थिक वर्षमा बढेको तथ्याङ्कले देखाएको छ । कोदो लगाइएको क्षेत्रफल घटे पनि चालु आर्थिक वर्षमा १ दशमलव ४ प्रतिशतले उत्पादन बढेको छ । यो वर्ष दुई लाख ६८ हजार ५० हेक्टर क्षेत्रफलमा तीन लाख आठ हजार ४८८ मेट्रिक टन कोदो उत्पादन भएको छ ।

चालु आर्थिक वर्षमा फापर १० हजार ८१९ हेक्टर क्षेत्रफलमा १० हजार ८७० मेट्रिक टन उत्पादन भएको छ । फापर लगाउने क्षेत्रफल २ दशमलव ९ प्रतिशत बढ्नुका साथै उत्पादन ५ दशमलव २ प्रतिशत बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता ठाकुरले उन्नत प्रविधिको प्रयोग र रासायनिक मलको पर्याप्त वितरण यस आर्थिक वर्षमा हुन सकेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us