खोटाङ, १ पुस– खोटाङ जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरिएका छन् । सोमबार दिक्तेलमा सम्पन्न छैटौं कृषक दिवस तथा बृहत् व्यावसायिक प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी समापनको अवसरमा दिक्तेल–५ का रामकुमार राई, नेर्पा–६ का देवराज रिजाल र लामीडाँडा–५ का कुमार श्रेष्ठ सम्मानित भएका हुन् ।
गाउँमै बसेर कृषि क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्याएकामा उनीहरुलाई जनही रु पाँच हजार र कदरपत्रका साथ सम्मान गरिएको हो । व्यावसायिक तरकारी खेतीका लागि राईलाई, सुन्तला खेतीका लागि श्रेष्ठ र नर्सरी उत्पादनका लागि रिजाललाई सम्मान गरिएको कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए ।
यस्तै अलैंचीका पिताका रुपमा परिचित बाँझे च्यानडाँडा–९ मबुका पर्खनबहादुर राईलाई विशेष सम्मान प्रदान गरिएको सो कार्यालयले जनाएको छ । उत्कृष्ट किसानलाई प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र स्थानीय विकास अधिकारी महेन्द्र सापकोटाले नगद तथा सम्मानपत्र प्रदान गरी सम्मानित गरेका थिए ।
कर्मचारी मिलन केन्द्रको प्रांगणमा आयोजना गरिएको दुईदिने कृषक दिवस तथा कृषि मेला प्रदर्शनीमा विभिन्न अन्नबाली विद्यामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल ४७ किसानलाई पुरस्कृत गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवं प्रतिस्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्ने पर्दशनी आयोजना गरिएको हो ।