
विराटनगर, २९ मंसिर–उपराष्ट्रपति परमानन्द झाले राष्ट्रको तीनखम्बे आर्थिक नीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहेकाले सहकारी जनताप्रतिको उत्तरदायित्वमा समर्पित हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले युवा रोजगारका लागि विदेश पलायन भइरहेकाले सहकारीमार्फत स्वरोजगारको व्यवस्था, सहज ढङ्गले निमुखा वर्गलाई ऋण उपलब्ध गराएर आत्मनिर्भर बनाउने कार्यले तीव्रता लिएमा युवाको विदेश पलायनमा कमी आउने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति झाले सिधासाधा ग्रामीण जनताले पनि आफ्नो उन्नतिका लागि सहकारीमार्फत आर्थिक क्रियाकलाप गर्ने भएकाले सहकारीलाई बढीभन्दा बढी ग्रामीणमुखी नै बनाइराख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा युवराज खतिवडाले सामाजिक र आर्थिक क्षेत्रमा क्रान्तिकारी रुपान्तर ल्याउनमा सहकारी अगाडि बढिरहेको भए पनि राष्ट्रिय सहकारी बैंकमा अर्बौं रुपैयाँको निक्षेपको सदुपयोग हुन नसकेको बताउदै यसको कार्यदिशा स्पष्ट बनाउन छुट्टै कानुन बनाउनुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले प्रतिवेदन प्रस्तुत गर्दे मुलुकमा ३१ हजार सहकारी संस्थाका माध्यमबाट ३०० अर्बको कारोबार भएको र यस बैंकको सेयर पुँजी ६६ करोड रहेको जानकारी गराए । रासस