चिसो अझै बढ्ने

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ९:०६ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर–पश्चिमी वायुको प्रभाव सकिएर आज मुलुकभरको मौसममा सामान्य सुधार आएपनि उक्त वायु पुनः सक्रिय हुँदै गएका कारण अझै केही दिन मौसम बदली भई चिसो बढ्ने अनुमान गरिएको छ ।

अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई पानी पर्दा आइतबार काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको थियो ।

“पश्चिमी वायुको प्रभाव सकिएर आज देशको मध्यभागमा मौसम सफा रहेपनि पश्चिमी र पूर्वी भेगका केही स्थानमा मध्याह्नपछि हल्का बादल छाएको छ, पश्चिमी वायु पुनः सक्रिय भएकाले यो समस्या आएको हो, आइतबारको जस्तो ठूलो प्रभाव नपर्ने भएपनि केही दिन मौसम सामान्य बदली भई हल्का पानीसमेत पर्नेछ,” मौसमविद् राजाराम ढकालले बताए ।

अरब सागरबाट अफगानिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट आज पश्चिमी वायु प्रवेश गरेकाले क्रमशः मौसम बदली भई चिसो बढ्ने उनले उल्लेख गरे ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम न्यूनतम ३.५ तथा अधिकतम १७ डिग्री सेल्सियस रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us