इलाममा बिसिजी भ्याक्सिन अभाव

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ३:१८ मा प्रकाशित

इलाम, २९ मंसिर– इलामका स्वास्थ्य संस्थामा बालबालिकालाई लगाइने बिसिजी भ्याक्सिन अभाव भएको छ । जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई लगाइने क्षयरोगविरुद्धको उक्त विसिजी भ्याक्सिन अभाव हुँदा खोपसेवा नै प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

कार्यालयका खोप सुपरभाइजर विष्णु वस्तीका अनुसार उक्त भ्याक्सिन अभावमा दोस्रो चरणको खोप कार्यक्रम प्रभावित भएको हो । जिल्ला स्वास्थ्यसहित जिल्लाका एक सय ८७ वटा खोप केन्द्रमा उक्त भ्याक्सिनको मौज्दात नहुँदा खोप कार्यक्रम प्रभावित बनेको बताए ।

उक्त भ्याक्सिन क्षेत्रीय मेडिकल स्टोर विराटनगर, बाल स्वास्थ्य महाशाखा र स्वास्थ्य सेवा विभागमा समेत नभएको वस्तीले जानकारी दिए । कार्यालयले भ्याक्सिन उपलब्ध गराउनका लागि लिखित तथा मौखिक रूपमा क्षेत्रीय मेडिकल स्टोरमा माग गरे पनि क्षेत्रले अभाव देखाउँदै आएको छ ।

यो भ्याक्सिन महिनामा दुई सय भायल चाहिन्छ । खोप सुपरभाइजर वस्तीका अनुसार एक भायल बराबर २० बालबालिकालाई भ्याक्सिन लगाउन सकिन्छ । जन्मेदेखि एक वर्षसम्मका बालबालिकालाई क्षयरोगविरुद्ध बिसिजी, हेपाटाइटिसविरुद्ध डिपिटी, निमोनियाविरुद्ध पिसिपी, दादुरा रुबेलाविरुद्ध दादुरारुबेला, पोलियोमाइलाइटिसविरुद्ध आइपिभी खोप, धनुषटङ्कार र भ्यागुते रोगविरुद्ध टिडी भ्याक्सिन कार्यालयले लगाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us