सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेपछि बाल तथा मातृ मृत्युदरमा कमी

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते २:३५ मा प्रकाशित

बर्दिया, २९ मंसिर– घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्दै सुत्केरी हुन् स्वास्थ्य संस्थामा जान थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको चाप बढ्दै गएको छ । महिला प्रजनन स्वास्थ्य अधिकारमा महिलाको पहुँच बढेसँगै मातृ तथा बाल मृत्युदरमा समेत कमी आएको छ ।

पहिले पहिले घरपरिवारको भनाइ मानेर डरले गर्भवती महिला स्वास्थ्य संस्थामा जाँदैन्थे तर हिजोआज गर्भवती महिला नियमित जाँच र सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा जान थालेको मगरागाडी–६ कि ललिता भण्डारी बताउँछिन् ।

‘महिला घरायसी कामका कारण पनि स्वास्थ्य संस्थामा जान मान्दैन्थे, गेरुवा ग्रामीण जागरण संघ र जनस्वास्थ्य कार्यालयले समुदायमै गर्भवती महिलालाई जनचेतना दिन थालेपछि ग्रामीण महिला जागरुक भएका छन्’ उनले भनिन ।

पहिले–पहिले घरमै सुत्केरी हुन रुचाउने ग्रामीण महिला हिजोआज स्वास्थ्य संस्थामा जान थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको चाप बढेको गेरुवा ग्रामीण जागरण संघ नेपालगन्जकी टोली नेत्री भाग्यरेखा सिलवालको भनाइ छ ।

संस्थाले ग्रामीण समुदायमा गर्भवती महिलाको समूह बनाइ चेतना दिने गरेको र कार्यक्रममार्फत गर्भवतीका घरघरमा पुगी स्वास्थ्य संस्थामा जाँच, परामर्श र सुत्केरी हुनका लागि जानुपर्ने सूचना दिँदै आएको छ ।

गेरुवा ग्रामीण जागरण संघले समुदायमा गर्भवती महिलाका लागि गर्ने चेतनामूलक कार्यक्रम प्रभावकारी रहेको र कार्यक्रमबाट जनस्वास्थ्य कार्यालयलाई पनि सहयोग पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाकी मातृशिशु शाखा प्रमुख पद्मा श्रेष्ठले बताइन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us