
दाङ, २८ मंसिर–दाङ र कैलालीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
दाङका जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत धनबहादुर थापाले यस वर्ष जिल्लामा एक लाख ५७ हजार २७३ मेट्रिकटन धान उत्पादन भएको बताए ।
जुन गत वर्षको तुलनामा ३.०३ प्रतिशतले बढी हो ।
यस वर्ष ३६ हजार ५७५ हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको र प्रतिहेक्टर ४.३ मेट्रिकटन धान उत्पादन भएको पनि बाली विकास अधिकृत थापाले जानकारी दिए ।
गत वर्ष जिल्लामा एक लाख ५५ हजार ८१९ मेट्रिकटन धान उत्पादन भएको थियो ।
यसपटक किसानले जिल्लामा विन्देश्वरी, राधा ४, हर्दीनाथ, सावित्री, युयस ३१२, आकाश, सुक्खा १ रामधान, गोरखनाथलगायतका जातका धानखेती गरेका थिए ।
त्यस्तै कैलाली जिल्लामा पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष १६ प्रतिशतले धान उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष जिल्लामा दुई लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख २७ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयका सूचना अधिकृत खेमराज जोशीले बताए ।
उन्नत जातको धानको बीउको प्रयोगमा वृद्धि, रासायनिक मलको सहज आपूर्ति र अनुकूल मौसमका कारण धान उत्पादन वृद्धि भएको बताइएको छ ।
जिल्लाको मुनुवा, जोशीपुर, भजनी, दरख, हसुलिया, बौनिया, मालाखेती, चौमाला, साडेपानीलगायतका क्षेत्र धान उत्पादनका लागि उर्वरा क्षेत्र मानिन्छन् । सर्जु ५२, राधा ४, लोकतन्त्र, हर्दीनाथलगायतका उन्नत जातका धानखेती गरिँदै आएको छ ।
जिल्लामा झन्डै ७१ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा धानखेती हुदै आएकोमा आधाभन्दा बढी क्षेत्रफलको जग्गामा आकासे पानीमा भर पर्नुपर्ने बाध्यता रहेको छ । रासस