क्रिसमस सामानको प्रदर्शनीमा ३५ लाखको आर्थिक कारोबार

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ११:१० मा प्रकाशित

ललितपुर, २८ मंसिर–हाउस अफ राजकर्णिकारले शनिबार सुरु गरेको क्रिसमसमा उपयोग हुने उपहारका सामानको प्रदर्शनीमा रु ३५ लाखको आर्थिक कारोबार भएको छ ।

संस्थाका निर्देशक मुनु राजकर्णिकारका अनुसार हिजोबाट  स्टाफ कलेजमा भएको प्रदर्शनीमा सजावजटका ट्रि, बालबालिकाले खेल्ने खेलका सामान, जाडोमा लगाउने लुगा, विद्युतीय सामान, चाँदीका गहना, हस्तकलाका सामानलगायतका सामानको ८० वटा कक्ष राखिएको छ ।

निर्देशक कर्णिकारका अनुसार पहिलोपटक गरिएको  प्रदर्शनीमा  आशा गरेअनुसारको दर्शकको आगमन र आम्दानी भएको छ ।

प्रदर्शनीमा पहिलो दिन १० हजार दर्शकले अवलोकन गरेका थिए भने रु २० लाखको आर्थिक कारोबार भएको थियो । आज अन्तिम दिन पानी परेकाले केही कम कारोबार भएका जनाइएकोे छ ।

प्रदर्शनीमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका साथै पोखरा, र सुर्खेतका व्यवसायीले समेत कक्ष राखेका थिए ।

यस वर्षको प्रदर्शनी पहिलो भए पनि आगामी सालदेखि हरेक वर्ष गरिने आयोजकले जनाएको छ । क्रिसमस यही पुस १० अर्थात् डिसेम्बर २५ मा  पर्दछ  । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us