
गौशाला, २७ मंसिर–महोत्तरी जिल्लामा उब्जनी र स्वादका हिसाबले अतिउत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् ।
जिल्लाका कृषिसम्बन्धी जानकारहरु तथा वयोवृद्ध किसानका अनुसार महोत्तरीबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, वच्ची, जसवा, वाहरनी, मन्सरी प्रजातिका रैथाने धानहरु हराएका हुन् ।
उनीहरुले उन्नत जातका नयाँ–नयाँ धानका प्रजाति आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको उल्लेख गरे ।
स्वाद, सुगन्ध र रङ्गका कारण कुनै बेला सोख र सम्पन्नताको प्रतीक मानिने करियाकामत धानसमेत अहिले लोपोन्मुख अवस्थामा रहेको एकरहिया गाविसका पुराना किसान विश्वनाथ मण्डल बताए ।
तर रैथानेमध्येकै बासमती धानले कसैगरी अस्तित्व बचाइरहेको पिगौना गाविसका पुराना किसान किसुन विच्छाले बताए ।
उनका अनुसार परम्परागत धान हराउँदै जाँदा उत्पादन र सामाजिक क्षेत्रमा समेत प्रभाव परेको छ । यसले नयाँ समस्यासमेत ल्याएको उनको अनुभव छ ।
महोत्तरीमा धानखेतीको माइती घर मानिएको फुल्काहा गाविसका जमुनिया गाउँमा समेत रैथाने प्रजातिका यी धान लोप हुँदै गएको स्थानीय कृषक विष्णु सदाले बताए ।
जिल्लाबाट रैथाने धानहरु हराउँदै गएपछि गाई वस्तुलाई खुवाउन पराल, परम्परागत रुपमा परालले तयार हुने गुन्द्री (चटाई) र पिर्का तथा छाना छाउने कामसमेत प्रभावित भएको गौशालाका कृषक हजारी साहले बताए ।
महोत्तरीबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्नखाले रोग प्रकोपसमेत बढेको जलेश्वर–७ का कृषक रामआश्रे मण्डलको भनाइ छ ।
त्यस्तै जिल्ला कृषि विकास कार्यालय महोत्तरीका वरिष्ठ कृषि विकास अधिकारी शङ्करप्रसाद साहका अनुसार पनि धान उत्पादनमा ह्रास आउने मुख्य कारणमध्ये रोगका प्रकोप पनि एक हो । रासस