एजेन्सी– युक्रेनको विषयलाई लिएर रुस र अमेरिकाबीच तनाव जारी रहेको समयमा भारत–रुसबीच भएको व्यापार, परमाणु तथा रक्षा सम्झौतालाई लिएर अमेरिकाले चरम असन्तुष्टी व्यक्त गरेको छ ।
दई दिवसीय भारत भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीच सो सम्झौता सम्पन्न भएको थियो ।
यसै वर्षको आरम्भदेखि नै युक्रेनबाट क्रिमियालाई रुसले नियोजित रुपमा अलग गराएको भन्दै अमेरिकासहित पश्चिमा मुलुक र रुसबीच तनाव चलिरहँदा भारत–रुसबीच यस्तो सम्झौता भएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेन साकीले भने ‘हामीले यत्ती भन्छौ अहिले रुससँग सामान्य सम्बन्ध विस्तार गर्ने समय आइसकेको छैन । अरु हामीले विस्तारमा हेर्नुपर्ने हुन्छ सम्झौतामा के–के भनिएको छ ।’
‘हामीले व्यापार, परमाणु र रक्षाको क्षेत्रमा भएको सम्झौता हेरेका छौ तर अहिले नै पुष्टी भै सकेको छैन् कि त्यसमा विशेष गरेर कस्ता–कस्ता कुरा समेटिएका छन् ।’– प्रवक्ता साकीले भने ।
पुटिनको दुई दिने भ्रमणका क्रममा भारतमा थप दस परमाणु संयन्त्र स्थापना गर्ने योजनाका विषयमा समेत चर्चा भएको छ ।
आगामी महिना अमेरिकी राष्ट्रपतिले गर्ने भनिएको भारत भ्रमण भन्दा अघि भएको पुटिनको भ्रमणलाई बिशेष चासोका साथ हेरिएको छ ।
उता केही विश्लेषकहरुले भारत–रुस बिच भएको सम्झौताले अमेरिकी राष्ट्रपतिको आगामी महिना हुने भ्रमणलाई समेत प्रभावित पार्न सक्ने बताई रहेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको स्वतन्त्रता दिवस २६ जनवरीमा बिशेष अतिथिका रुपमा भारत आउने तय भै सकेको छ ।
अमेरिकी प्रवक्ता साकीले रुसी राष्ट्रपतिको भ्रमण दलमा हालैमात्र युक्रेन देखि अलग भएको क्रिमियाका नेताहरु समेत सामेल हुन सक्ने आफुहरुले बुझेको पत्रकारहरुलाई बताए ।