विवाहका लागि केटा खोज्दै ‘राउटे सुन्दरी’

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते २:३३ मा प्रकाशित

दैलेख, २७ मंसिर– राउटे समुदायकै राम्री युवतीमा पर्छिन्, २१ वर्षीया विमला शाही । बस्ती हेर्न आउनेका नजरमा उनी ‘राउटे सुन्दरी’ कहलिएकी छन् । नयाँ मान्छेले नियाल्यो भने मुस्कुराउँछिन् । नुवाइधुवाइ गर्छिन्, कपाल कोरेर चिटिक्क पर्छिन् । नाडीमा पुराना बाला र गलामा पोतेले सजिन्छिन् । झट्टहेर्दा उनलाई नपुग्दो केही छैन । बाँकी छ, दुलाह पाउन । बिहे गर्ने केटा नपाउँदा निराश छिन् । विमलाको लगन कहिले जुर्ने हो निश्चित छैन् । किनकि, उनीसँग चल्ने र मिल्ने जातका केटाहरु सानै छन् ।

२३ वर्षीया रिबाङको समस्या उही हो । उनले पनि केटा पाएकी छैनन् । विमलाभन्दा मोटी र होची छिन् । उमेरले पनि जेठी । दुई जना दिनभर सँगै हुन्छन् । सितिमिति संगत छाड्दैनन् । एक राउटे युवकका भनाइमा उनीहरुबीच को राम्रो देखिने भन्ने होडबाजीसमेत चल्छ ।

घुम्दैफिर्दै दैलेखको तल्लो डुंगेश्वर आइपुगेका राउटे समुदायले एउटा गम्भीर संकटको सामना गर्नु परेको छ । उमेर पुगेका वरबधुको अभावले गर्दा धेरैको बिहेबारी रोकिएको छ । विवाहको यस सिजनमा राउटे बस्तीमा न कुनै चटारो छ न त बिहेको प्रसंग नै । चल्ने मिल्नेलाई कलिलै उमेरमा रोज्ने क्रम बढेको छ ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us