
पोखरा, २६ मंसिर–कास्कीको सिल्दुजुरे गाउँ विकास समिति वडा नं ९ बाहुन डाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको हालसम्म ७० प्रतिशत निर्माण कार्य सकिएको छ ।
मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०७२ फागुन महिनाभित्र पूरा गरिने आयोजनाका प्रमुख रामराज कोइरालाले बताए ।
उनका अनुसार मंसिर १५ गतेसम्म दुई हजार ५०० मिटर सुरुङ खन्ने काम सकिएको छ । अब एक हजार ७०० मिटर सुरुङ खन्ने काम बाँकी रहेको छ ।
आयोजनाको विद्युत्गृहको निर्माण कार्य भने सम्पन्न भइसकेको छ ।
अनुमानित लागत करिब ६० मिलियन अमेरिकी डलर अर्थात् रु पाँच अर्ब २८ करोड बराबरको रकम स्वदेशी तथा वैदेशिक सहयोग जुटाई उक्त आयोजना पूरा गरिने बताइएको छ ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा २०६९ सालको पुस महिनाबाट आयोजना सुरु गरिएको थियो । रासस