बेरोजगारको देशमा कामदार नपाएर उद्योग बन्द !

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ३:११ मा प्रकाशित

तेह्रथुम, २६ मंसिर– दैनिक सयौंको संख्यामा तेह्रथुमका युवा रोजगारीको खोजी गर्न राहदानी बनाउन जिल्ला प्रशासन जाने गर्दछन् । तर, तेह्रथुमका साना तथा ठूला उद्योग भने कामदार नपाएर बन्द हुने अवस्थामा पुगेका छन् ।

कामदार नपाएर बन्द हुने अवस्थामा पुगेका उद्योगमध्ये सदरमुकाम म्यांलुङमा सञ्चालित इँटा उद्योग पनि हुन् । म्यांलुङमा सात वर्षदेखि सञ्चालित एपोलो इँटा उद्योगमा २० जना कामदार छन् । तर, उद्योगलाई दुई सय कामदारको आवश्यकता छ । उद्योग सञ्चालक सञ्जयकुमार तुम्बाहाम्फे भन्छन्, ‘कामदार नपाएर उद्योगले मागअनुसारको इँटा दिन सकेको छैन ।

त्यस्तै म्यांलुङमै सञ्चालित गणेश इँटा उद्योगका सञ्चालक नैन सुब्बा पनि कामदार नपाएर भनेजति इँटा उत्पादन गर्न नसकेको बताउँछन् ।

सदरमुकाम म्यांलुङमा बर्सेनि २० देखि ५० वटा घर थपिन्छन् । ती घरलाई आवश्यक पर्ने इँटा स्थानीय उद्योगले उत्पादन गरेर दिन नसक्दा तराइका मोरङ, सुनसरीमा उत्पादित महँगो इँटा किनेर घर बनाउन म्यांलुङवासी बाध्य छन् ।

गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us