महोत्तरीमा ४० करोड विद्युत् महसुल उठ्न बाँकी

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते २:५२ मा प्रकाशित

महोत्तरी, २६ मंसिर– नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले ग्राहकसँग ४० करोड रुपैयाँ बराबरको विद्युत् महसुल असुली गर्न बाँकी रहेको जनाएको छ ।

गत वर्षसम्म ३० करोड रहेको विद्युत्को बाँकी महसुल यस वर्ष १० करोड बढेर ४० करोड पुगेको हो । विद्युत् लाइन काट्ने र चोरी नियन्त्रण गर्ने अभियानबाट विद्युत्को झन्डै ५० लाख पुरानो बक्यौता उठ्ने आशा लिएको कार्यालयले जनाएको छ ।

गत वर्ष विद्युत् चोरीको जरिवाना र लाइन काट्ने अभियानबाट प्राधिकरण महोत्तरीले झन्डै ४० लाख असुल गरेको थियो । प्राधिकरणसँग आवश्यक जनशक्ति नहुँदा जिल्लाभरिमा ५० प्रतिशतभन्दा बढी विद्युत् चुहावट हुने गरेका कार्यालयका प्रमुख जितेन्द्र झाले बताए । हाल महोत्तरीमा मासिक एक करोड बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ ।

प्राधिकरण महोत्तरीमा हाल ४१ जना स्थायी कर्मचारीको दरबन्दी खाली छ । एक सय ४० जना स्थायी कर्मचारीको दरबन्दी रहेकामा हाल ९९ जना मात्रै कर्मचारीले काम चलाउँदै आएको कार्यालय प्रमुख झाले जानकारी दिए । जसको कारण जिल्लाको ग्रामीण क्षेत्रमा प्राधिकरणले वर्षांैदेखि ग्राहकको मिटर रिडिङ गर्न सकेको छैन ।

जिल्लाको दक्षिणी क्षेत्रका ४९ वटा गाविसमा भारतबाट तथा उत्तरी क्षेत्रका २७ वटा गाविसमा नेपालबाट विद्युत् वितरण हुँदै आएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us