होटलको बास, ट्याक्सी चढेर चोरी, क्याबिन रेस्टुरेन्टकी युवतीसँग मस्ती

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते २:१९ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– चोरी गर्नेहरुको जीवनशैली कस्तो हुन्छ ? जवाफ हुन्छ, ‘सामान्य खान, लाउन नपुगेर त चोरी गर्ने हुन् ।’ तर होइन, अचेल चोरी गर्नेहरु होटलमा बस्ने अनि ट्याक्सी चढेर चोरी गर्ने गरेको तथ्य खुलेको छ ।
यति मात्रै होइन, चोरी गरेर ल्याएको पैसा क्याबिन रेष्टुरेन्टका युवतीलाई प्रमिका बनाएर उडाउने गरेका छन् ।

यिनीहरुले पछिल्लो दुई महिनामा राजधानीका १४ स्तानबाट झण्डै ४५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् । त्यसरी चोरी गर्दै हिंड्ने १० जनाको समूहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका जवानदेखि १६ वर्ष उमेर नपुगेकाहरु छन् ।

पक्राउ परेकामा दोलखाका सुवास नेपाली, उदयपुरका आश्विन थापामगर, दीपक भन्ने चन्द्रबहादुर बस्नेत, प्रवेश तामाङ, चन्द्रबहादुर श्रेष्ठ, दोर्जे भन्ने विशाल राई र अजय पुरी छन् । बाँकी तीनजनामा युवराज कार्की, रुपेश कार्की र विक्रम बस्नेतलाई उदयपुर नै पुगेर पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै पछिल्ला दुई महिनायता पूरानो बसपार्कस्थित स्वागतम् होटलमा दुई वटा कोठा लिएर बस्दै आएका थिए ।
अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक ओम अधिकारीका अनुसार यो टोलीले चोरी गर्नुभन्दा पहिला घरमा ‘रेकी’ गर्ने गरेको थियो ।

‘मुख्य गेट खुलेको देखेपछि भित्र छिरेर हेर्ने र मान्छे बोलाउने, कोही निस्कियो भने कहीं फलानाको घर हो ? वा कोठा खाली छ ? भन्दै सोधेर उम्कने गरेको रहेछ’, उनले भने, ‘दुई चार पटक बोलाउँदा कोही नआए ढोकाको लक फोडेर वा काटेर भित्र छिर्ने गरेका रहेछन् ।

प्रहरीका अनुसार चोरी गरेर ल्याएको १ लाख ५९ हजार रुपैयाँ यिनीहरु मध्येका युवराज, रुपेश र विक्रमले फेरि चोरेर भागेका थिए ।

‘दिनभरि चोरी ग¥यो, अनि साँझ पैसा बोकेर क्याबिन रेस्टुरेन्ट पुग्दारहेछन्’, अधिकारीले भने, त्यहींको केटीलाई प्रमिका बनाएर सबै पैसा उडाउने रहेछन् ।’
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us