
काठमाण्डु, २६ मंसिर–संविधानका विवादित विषयमा छलफल नगरेको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले पार्टी कारबाहीमा परेकी सुजातालाई सार्क सम्मेलनमा प्रथम महिला बनाएकोमा पनि आपत्ति जनाएका छन् ।
बालुवाटारमा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्य भीष्मराज अङदेम्बेले कारबाहीमा परेकी सुजातालाई किन ‘फस्र्ट लेडी’ बनाइयो भन्दै पार्टी सभापति सुशील कोइरालासँग जवाफ मागेका थिए । कारबाही गलत भए अनुशासन समिति नेतृत्वलाई र कारबाही सही भए पार्टी सभापतिलाई नै कारबाही हुनुपर्ने उनको माग छ ।
‘अनुशासन समितिले कारबाही गरेकी सुजाता कोइरालालाई किन फस्र्ट लेडी बनाउनु भयो ?’ बैठकमा सभापतिलाई प्रश्न गर्दै आङदेम्बेले भने, ‘असल मान्छेलाई अनुशासन समितिले कारबाही गरेको हो भने समितिलाई नै कारबाही गर्नु पर्यो । समितिले ठीक गरेको हो भने कारबाहीमा परेकी व्यक्तिलाई ‘फस्र्ट लेडी’ बनाउने सभापतिलाई नै कारबाही गर्नु पर्यो ।
दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीका उमेदवारलाई हराउन सक्रिय भूमिका खेलेको भन्दै अनुशासन समितिले ८ असोजमा केही नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो । केन्द्रीय सदस्य एवं सभासद् सुजाता कोइरालासहित एक सय ८३ जना नेता तथा कार्यकर्ता कारबाहीमा परेका थिए ।
नयाँ पत्रिका दैनिकबाट