पर्वतमा फलफूल महोत्सवको तयारी

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते १२:२३ मा प्रकाशित

पर्वत, २५ मंसिर– पर्वत जिल्लामा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि आयोजना गरिएको फलफूल महोत्सवको तयारी गरिएको छ । महोत्सवको नाम ‘चौथो कफी, लप्सी तथा सुन्तला महोत्सव’ दिइएको छ ।

Suntala-Myagdi

यही पुस ९ देखि १५ गतेसम्म सात दिनसम्म सञ्चालन गर्न लागिएको महोत्सवको अधिकांश तयारी पूरा भएका हुन् । महोत्सव सम्पन्न गर्न निर्माण गरिएका विभिन्न उपसमितिले आ–आफ्नो काम सम्पन्न भइसकेको बताएका छन् ।

घरेलु तथा साना उद्योग महासङ्घ पर्वत तथा जिल्ला विकास समितिको आयोजनामा महोत्सव गर्न लागिएको हो । कफी, लप्सी र सुन्तला उत्पादनमा ख्याति कमाएको पर्वतमा तिनीहरुको बिक्री तथा प्रवद्र्धन गर्दै साना उद्यमीको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा लघु, घरेलु कृषि तथा वनजन्य औद्योगिक प्रदर्शनीसमेत गरिने भएको छ । पर्वत जिल्लाका गाउँगाउँमा रहेका साना उद्यमीद्वारा उत्पादित सुन्तला, मह, कफी, लप्सी, अदुवा, ढाका, अल्लो, बाँस, निगालो, काठ तथा धातुका सामान र जैविक कृषि उत्पादनहरु प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक शिवशर्मा पौडेलले बताए ।

मेलासँगै प्याराग्लाइडिङ उडान, पर्यटकीयस्थलको अवलोकन, ‘दैनिक दिनचर्या’ फोटो प्रदर्शनी र पशु मेलाजस्ता कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ । महोत्सवमा गाविसस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।

महोत्सवमा विभिन्न उद्योगका १०० भन्दा बढी कक्ष राखिने छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us