
बिर्तामोड, २४ मंसिर– प्रत्येक वस्तुको हाइव्रिड उत्पादनतर्फ सबैको ध्यान खिचिँदै गएको बेला शनिअर्जुन नगरपालिका–३ की निर्मला कटुवाल भने लोकल कुखुरा पालनतर्फ आकर्षित भएकी छिन् । गाउँका कृषक ब्रोइलर कुखुरापालन गरिरहँदा कटुवालको लोकल कुखुराको आम्दानीले अन्यलाई उछिनेको छ ।
ग्रामीण भेगका प्रायःजसो घरमा लोकल कुखुरा पाल्ने गरिए पनि आम्दानीको स्रोतकै रुपमा भने कमैले मात्र महत्व दिने गरका छन् ।
तीन वर्षअघि लोकल कुखरा पालनसम्बन्धी एक दिने सामान्य तालिम लिएकी उनले कुखुरालाई गरिने ग्रामीण उपचार विधि, अण्डा दिने समय, ओथारा दिँदा ध्यान दिनुपर्ने कुरा र चल्लालाई माउबाट छुटाउनुपर्ने समयमा विशेष ध्यान दिएकैले आफू सफल भएको बताइन् ।
घरमा भएको एक माउ कुखुरा र त्यसबाट फैलिने सन्तानमा भाले फेर्दै व्यावसायिकतातर्फ उन्मुख भएपछि उनी लोकल कुखुराका लागि गाउँमै अब्बल हुन थालिन् । मासु र अण्डा घरमा पर्याप्त प्रयोग गरेर पनि वार्षिक रु ८० देखि ९० हजारसम्म कमाउने गरेको उनले बताइन् ।
उनी भन्छिन्– ‘रानीखेत रोगबाट बचाउन केही औषधिको प्रयोगले तीन वर्षदेखि मेरो घरमा कुखुराको रोग आएको छैन ।’
उनको कुखुरापालनप्रतिको सफलतालाई लिएर गाल्मेड भन्ने अन्तर्राष्ट्रिय संस्थाले एउटा वृत्त चित्र नै बनायो र संसारका विविध ठाउँमा देखायो । उसैको आयोजनामा गत २०७० माघ ६ गते काठमाडौँको गोकर्ण रिसोर्टमा झण्डै ६० देशका प्रतिनिधिहरूमाझ उनले लोकल कुखुरापालनसम्बन्धी वक्तव्य दिइन् । यो क्षण उनका लागि जीवनकै सबैभन्दा ठूलो दिन भएको छ ।
उनको प्रगतिले बेलायती पत्रकारितालाई पनि आकर्षित ग–यो । गत बैशाखतिर प्रख्यात अङ«ग्रेजी पत्रिका ‘टाइम्स’ का बेलायती पत्रकारहरूले समेत उनको आँगन टेके । गाउँ र देशनै परिवर्तन गर्न चाहने ठूलाबडाको आँखामा कहिल्यै नपरेकी निर्मला अन्तर्राष्ट्रियस्तरमा भने आफ्नो कृषक पहिचान बनेकोमा जीवन सफल भएको बताउँछिन् ।
लोकल कुखुरा आम्दानीको दृष्टिले अधिक नाफामूलक भएको निर्मलाको राय छ । चल्ला किन्नुनपर्ने, बाहिरी हावापानी खप्न सक्ने, घरेलु खाद्यान्न र घाँसलाई चारोको रुपमा प्रयोग गर्न सकिने, भान्साबाट रहेको भात, सब्जीसमेत चारोको रुपमा दिन मिल्ने भएकाले पनि यो नाफामूलक भएको उनको अनुभव छ ।
लोकल कुखुराको नाममा गिरिराजलगायत अन्य विभिन्न प्रजातिका कुखुराले बजार तताइरहेका बेला यसप्रति निर्मलाको मोह फरक छ । ‘लोकल उत्पादन बढ्नुपर्छ भन्ने निकाय वा त्यसतर्फका कुनै क्षेत्रको सहयोग प्राप्त गर्न सके नमूनाकै रुपमा आफूले गरेर देखाइने थिएँ;’–उनले बताइन् ।
रासस