
दोलखा, २१ मंसिर– भीमेश्वर नगपालिका– १० चरिकोटमा साबुन उद्योग सञ्चालनमा आएको छ । केसी सोप एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले दोलखा जिल्लालाई लक्ष्य गर्दै स्थानीय स्तरमा साबुन उत्पादन सुरु गरेको हो ।
उद्योगले बाबा नुहाउने साबुन, प्रकाश लुगा धुन साबुन, प्रकाश डल्लो साबुन, केक साबुन र डल्लो लुगा धुने साबुन उत्पादन गरी बजारमा उपलब्ध गराएको छ ।
केसी सोप एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका प्रोपाइटर लक्ष्मी बस्नेत केसीका अनुसार करिब रु १५ लाख लगानीमा सञ्चालन गरेको यो उद्योगले घ्यूकुमारी तथा अन्य जडीबुटीको मिसावटबाट हर्बल बाबा सोप साबुन उत्पादनसमेत गर्न लागेको छ ।
यस प्रालिले चाँडैनै जिल्लामा स्थानीय स्तरको उत्पादन नै प्रयोग गर्न लगाउन विशेष जनचेतनामूलक अभियान सुरु गर्ने पनि उनले जानकारी दिए । जिल्लामै खोलिएको यो पहिलो साबुन उद्योग हो ।