नेप्से ओरालो लागे पनि कारोबार रकममा सुधार

काठमाण्डु टुडे २०७१ मंसिर २० गते १०:४३ मा प्रकाशित

nepseकाठमाण्डु, २० मंसिर– केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से यो साता ३.१२ अङ्कले घटेर अन्तिम दिन ८५३.१२ अङ्कमा पुगेको छ ।
कारोबार रकममा भने यो साता सुधार आएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीहरूको आठ हजार ९६४ कारोबारबाट रु ७९ करोड १७ लाख चार हजार बराबरका २० लाख ३२ हजार ५३० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

यो कारोबार रकम गत साताको भन्दा २५.०८ प्रतिशत बढी हो । गत साता १५२ कम्पनीको कारोबार पाँच हजार ८२२ कारोबारबाट रु ६३ करोड ४४ लाख १० हजार बराबरका १४ लाख ४२ हजार १९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

सातामा समूहगत उतारचढावलाई हेर्ने हो भने यो साता वाणिज्य बैंक १.३९ ले, उत्पादनमूलक ६.३६ अङ्ले र अन्य समूहको परिसूचकमा १.१८ ले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन ।

त्यसैगरी विकास बैंक, वित्त, होटल, जलविद्युत् र बिमा समूहको परिसूचक यो साता नकारात्मक रहेको छ । सबैभन्दा बढी बिमा समूहको नेप्सेमा ८१.२७ अङ्कले घटेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.०२ अङ्कले घटेर १८३.१२ अङ्कमा आइपुगेको छ ।

यसरी नेप्से घट्नुको मुख्य कारण राजनीतिक अस्थिरताले लगानीकर्तामा आएको सिथिलता भएको विष्लेषकको भनाइ छ ।

दिव्य सेक्युरिटिज एन्ड स्टक हाउसका व्यापार प्रतिनिधि विनय रेग्मीका अनुसार बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरू सबैले लाभांश बाँडिसकेको र सेयरमा लगानीका ऋण नपाएकाले लगानीकर्ताले सेयरमा चासो नदेखाएका हुन् ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फन्ड अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याका आधारमा लक्ष्मी लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता एलाइन्स इन्स्योरेन्स कम्पनीको आठ लाख ९२ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकरण भएका छन् । त्यसैगरी नेपाल बैंकको रु दुई करोड ४९ लाख ९४ हजार ७८२ साधारण सेयर र सिभिक डेभलपमेन्ट बैंकको एक लाख हकप्रद सेयर सूचीकृत भएका छन् । रासस
–––––––

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us