
पाँचथर, २० मंसिर– किराँत लिम्बू समुदायको महान् पर्व चासोःक तङ्नामअन्तर्गत आज दोस्रो दिन कुलाङदाक्मामा घर सफा गरी सफा पानीले सिञ्चित गरेको दियो बाली सार्वजनिक स्थानको सरसफाइ गरिएको छ ।
खेतबालीमा रोपिएको अन्नबाली पाकेपछि आफ्ना कुल इष्टदेवता तागेर निडवाफुमाडलाई अर्पण गरेर मात्र आफूले खान हुने विश्वास छ ।
तीनदिन मनाइने चासोक तङ्नामका बेला लिम्बू जातिले आआफ्नो घरमा मीठोमसिनो खाने, छोरी चेली माइत आउँदा चेसुड लिएर आउने, शुभकामना आदानप्रदान गर्ने तथा छरछिमेकमा हुुक्वा खानेकुरा साटासाट गर्ने चलन छ । गाउँघरमा घर घरमै यो पर्व मनाइन्छ ।
सहर बजारमा पनि सामूहिक रुपमा मनाउने चलन बढ्दै गएको छ ।
जिल्लाका विभिन्न गाविसमा सडक, मन्दिरलगायत सार्वजनिकस्थल सफा गरी दियो बालेर चाभिन कार्य पनि सम्पन्न गरिएको छ ।
चासोःक तङनामअन्तर्गत आज माङवा हाङ्वा नाक्माअर्थात् ईश्वरबाट बल माग्ने कार्यका साथै मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।
तङ्नामका अन्तिम दिन अर्थात् आइतबार आपसमा भेटघाटलगायत कार्य गरिने तङ्नाम चोकथिमका संयोजक हरिचन्द्र लावतीले बताए ।
रासस
––––––––