
एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओवामा पछिल्लो समय राजनीतिक मुद्दाका कारण चर्चामा छन् ।
अमेरिकी संसद्मा रिपब्लिकनको जित, बढ्दो युक्रेन संकट र त्यसकारण बढेको अमेरिकी– रुस चिसोपना, सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्द भएको अमेरिकी कारबाही र रणनीतिलाई लिएर ओबामाका अभिव्यक्ति तथा योजनालाई विश्वका सञ्चारमाध्यमले प्राथमिकता दिइरहेका छन् ।
तर, ओबामाले पछिल्लो वर्षमा राजनीतिक क्रियाकलाप मात्र बढाएका छैनन्, अध्ययनमा पनि धेरै चासो दिएका छन् । तर, यो विषय भने धेरै चर्चा गरेको पाइँदैन ।
ओबामाले पछिल्ला वर्षमा जुन पुस्तक पढिरहेका छन्, त्यसले उनले बनाइरहेको सोच र रणनीतिलाई पनि परिवर्तन गरिदिन सक्छ ।
नेपालमा प्रधानमन्त्री तथा राष्ट्रपति के पढिरहेका छन् भन्ने खासै थाहा हुँदैन । मन्त्रीहरुले कुन पुस्तक पढ्दै छन् थाहा हुँदैन ।
अधिकांश नेताका तस्बिर पनि सरकारी कागजात तथा नीति पढिरहेको मात्र देखिन्छ, पुस्तक पढिरहेका तस्बिर खासै बाहिर आउँदैन ।
तर, अमेरिकी राष्ट्रपतिको हकमा यस्तो हुँदैन । अघिल्लो शनिबार ओबामा वासिङटनमा एउटा किताब पसलमा पुगेका थिए ।
त्यहाँ उनले १८ भन्दा धेरै पुस्तक खरिद गरे । मंगलबार पनि उनले थप पुस्तक खरिद गरेका छन् । त्यसमा झुम्पा लाहिरीको पछिल्लो उपन्यास ‘द लोल्यान्ड, कनरेडको हर्ट अफ डार्कनेस, पार्किसको नट्स टु यू’ लगायतका पुस्तकहरु रहेका छन् ।
उनले किनेका अधिकांश किताब फिक्सन छन् । तर यसअघि उनले सन् २०१३ मा अधिकांश नन– फिक्सन किनेका थिए ।
नयाँ पत्रिका दैनिकबाट