
काठमाण्डु, १९ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा मधेसवादी दलका नेतासँग राष्ट्रिय सरकार गठनमा सघाउन आग्रह गरे ।
ओलीले आफ्नै नेतृत्वमा सरकार गठनको पहलस्वरुप मधेसी नेतालाई बालकोट बोलाएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।
बैठकमा एमालेबाट ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल तथा उपाध्यक्षहरु बमदेव गौतम, विद्यादेवी भण्डारी र भीम रावल सहभागी थिए ।
तर तेश्रो वरियताका नेता माधवकुमार नेपाल भने बैठकमा थिएनन् । स्रोतका अनुसार आफूलाई प्रधानमन्त्री हुन नदिने खेलमा लागेको भन्दै ओलीले नेपाललाई नबोलाएका हुन् ।
शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा नेता नेपालले संविधान जारी गर्नुअघि सरकार परिवर्तनको हल्ला चलाउनुको तुक नरहेको भन्दै केपी ओलीले राष्ट्रिय सरकारका लागि दलीय वार्ता अघि बढाउनु रहस्यमय भएको टिप्पणी गरेका थिए ।