
काठमाण्डु, १९ मंसिर– प्रहरीले नक्कली पैसा बनाउने मेसिनसहित दाङका एक युवालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली नोटको छपाइमा संलग्न रहेको आरोपमा दाङ नारायणपुर–९ बुटनियाँका १७ वर्षीय आशिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो ।
महाराजगञ्ज वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले नयाँ बसपार्कस्थित एक पसलमा नक्कली नोट दिएर सामान खरिद गर्न खोज्ने क्रममा चौधरी पक्राउ परेको जानकारी दिए ।
चौधरीको साथबाट प्रहरीले ५ सय रुपैयाँ दरका नक्कली नोट छपाइमा प्रयोग हुने मेसिन, ल्यापटप लगायत साम्रगी बरामद गरेको छ । चौधरीले आफूले जम्मा सात हजार नक्कली पैसा छापेको बयान दिएका छन् । उनी नारायणपुरस्थित सिद्धरत्ननाथ उच्च माविमा कक्षा १२ मा पढ्दै थिए ।
छोराले कम्प्युटर सेन्टर खोल्ने भन्दै बाबु बीरवहादुरलाई ५० हजार रुपैयाँमा एक महिनाअघि ल्यापटप किन्न लगाएका थिए । त्यसपछि उनले ४० हजारमा स्क्यानर किन्न लगाएर पैसा छाप्न थालेका थिए ।