
काठमाण्डु, १९ मंसिर– एमाले नेता माधवकुमार नेपालले संविधान जारी गर्नुअघि सरकार परिवर्तन असम्भव रहेको बताएका छन् ।
प्रेस चौतारी काठमाण्डुले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले संविधानअघि राष्ट्रिय सरकार गठनको कुरा बेमौसमी बाजाजस्तै भएको बताए ।
आफ्नै पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय सरकार गठनको कसरत थालेका बेला नेपालले माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रतिबद्धता बिर्सेर कोही पनि सत्ता खेलमा लाग्न नमिल्ने बताए ।
राष्ट्रिय सरकार गठनको बहस नै असान्दर्भिक रहेको उनको भनाइ थियो । उनले अध्यक्ष ओलीले राष्ट्रिय सरकार गठनका लाथि थालेको कसरतको भित्रि रहस्य आफूले बुझ्न नसकेको बताए ।
उनले सरकार परिवर्तन नभई एमाओवादी र मधेसी दललाई पनि अहिलेकै सरकारमा सामेल गराउन सके राम्रो हुने बताए ।
अर्को एक फरक प्रसंगमा नेता नेपालले माओवादीले जातीय संघीयताको अडान त्यागे एमाले आड प्रदेशमा जान तयार रहेको बताए ।