
भक्तपुर, १९ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा एमाले र मधेसवादी दलका नेताको भोजभतेरसहितको बैठक कुनै निष्कर्ष बिना सकिएको छ ।
ओली निवासमै खाना खानेगरी बिहान ११ बजेदेखि बसेको बैठक दिउँसो ३ बजे सकिएको हो ।
बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, एमाले उपाध्यक्षहरु विद्या भण्डारी, भीम रावल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्रकुमार महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता रानी शर्मा तिवारी, राष्ट्रिय मधेस सद्भावना पार्टीका नेता शेखर सिंहबीच करिब पाँचघण्टा लामो वार्ता भएको थियो ।
एमाले र मधेसी दलका नेताबीच संयुक्त सरकार गठन गर्ने र आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नेबारे छलफल गर्न बैठक बसेको थियो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री गौतमले आगामी माघ ८ भित्रै संविधान जारी गर्ने विषयमा मधेसवादी दलका नेताहरूसँग छलफल भएको बताए ।
सरकार परिवर्तनका बारेमा कुनै छलफल नभएको बताउँदै उनले भनृे, ‘यो एमाले अध्यक्ष ओलीले गर्नुभएको सद्भावपूर्ण भेला हो, भेलामा समयमै संविधान कसरी जारी गर्ने भन्नेबारेमा बृहत छलफल भयो तर सरकार परिवर्तनका बारेमा भने छलफल भएको छैन ।’
छलफलपछि एमाले उपाध्यक्ष भीम रावलले पनि माघ ८ भित्रै संविधान जारी गर्न वातावरण बनाउनेबारे छलफल भएको बताए ।
संविधान निर्माणका क्रममा भएका अन्तरवस्तुको विवादबारे सहमति जुटाउन गहन छलफल भएको उनको भनाइ थियो ।
रावलले छलफलका क्रममा मधेसी दललाई संयुक्त सरकारमा आउन प्रस्ताव गरेको बताउँदै यसको अर्थ सरकार पुरै परिवर्तन गर्ने नभई दलमा रहेको आशङ्का हटाउन संयुक्त सरकार निर्माण गर्न खोजेको दाबी गरे ।
बैठकपछि सद्भावना पार्टीका अध्यक्ष महतोले भने छलफलका क्रममा एमालेले मधेसी मोर्चालाई सरकारमा आउन प्रस्ताव गरेको बताए ।
एमालेले प्रस्ताव गरेपनि तत्काल सरकारमा जाने मधेसी मोर्चाको एजेण्डा नभएको बताउँदै महतोले भने, ‘मोर्चाको अहिलेको एजेण्डा सरकारमा जाने होइन, तत्काल सरकारमा जाने कुरै हुँदैन, मुख्य कुरा सहमतिबाटै संविधान निर्माण गर्ने हो, हाम्रो छलफल त्यसैमा केन्द्रित रह्यो ।’