देशभरिको दुर्घटनामा चारजनाको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । चितवन, सिन्धुपाल्चोक, कैलाली र सुनसरीमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
चितवन भण्डारा–८ शिवपुरी चोकमा ना.५ ख २१६९ नम्वरको बसले ना.१८ प ८१६१ नम्वरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक जगतपुर–७ बस्ने ४७ बर्षीय दिलबहादुर मोक्तानको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सिन्धुपाल्चोक इर्खु–५ चौतारा–साँगाचोक सडक खण्डमा बा.२६ प २५९० नम्बरको मोटरसाइकल बिहिबार दुर्घटना हुँदा पाङताङ–४ बस्ने २८ वर्षीय राजन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाली लम्की चुहा नगरपालिका–११ स्याउलेमा ना.५ ख ४१६१ नम्वरको बसले शुक्रबार ठक्कर दिई गम्भीर घाइते भएका सोही नगरपालिका–९ बाहुनपुर बस्ने ६५ बर्षीया पदमा बुढाको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको छ ।
बस र चालकलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सुनसरी भदगाउँ सिनुवारी–५ स्थित पुर्व–पश्चिम लोकमार्गमा बा.१ ख ८७२ नम्वरको ट्रकले को.१६ प ५०८८ नम्वरको मोटरसाइकललाई बिहिबार ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भाती–५ बस्ने संजीव लम्सालको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको छ ।
पछिल्ला दिनमा देशभरि सवारी दुर्घटना बढिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us