
पोखरा, १९ मंसिर– स्याङ्जा जिल्लामा यस वर्ष करिब २१ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।
जिल्लामा यो वर्ष १२ हजार ४२३ मेट्रिकटन सुन्तला उत्पादन भएको बागवानी अधिकृत तीलक केसीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा ११ हजार ८३२ मेट्रिकटन सुन्तला उत्पादन भई कृषकले करिब रु २० करोड कमाएका थिए ।
जिल्लामा बगँैचा व्यवस्थापन कार्यक्रम लागू भएका ठाउँमा १० देखि १५ प्रतिशत र अन्य ठाउँमा केहीमा घटी र केहीमा बढी गरी सरदर पाँच प्रतिशत सुन्तला उत्पादन भएको अधिकृत केसीले जानकारी दिए ।
जिल्लाका ५७ गाविस र तीन नगरपालिकामध्ये पुतलीबजार र वालिङ नगरपालिका एवं ३५ गाविसमा सुन्तला उत्पादन हुने गर्दछ ।
जिल्लाको ११६० हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य क्षेत्र मानिन्छ । व्यापारीले कृषकको बगैँचामै पुगी प्रतिकिलो ३० देखि ४० मा सुन्तला खरिद गर्ने गरेका छन् ।
जिल्लाका पुतलीबजार नगरपालिकाको वडा नं १२ र १३, दाङसिङ्ग, दहथुम, पेलाकोट, अर्जुनचौपारी, रापाकोट, ठूलाडिही, फापरथुम गाविसमा अत्यधिकमात्रामा सुन्तला उत्पादन हुने गर्दछ । यी गाविसका किसानले न्यूनतम ५० हजारदेखि पाँच लाखसम्मको सुन्तला बिक्री गर्ने गर्दछन् ।
स्याङ्जामा उत्पादित सुन्तलाको बजार बुटवल, पोखरा, नारायणगढ र भैरहवा हुन् । यहाँ उत्पादित सुन्तला निकै स्वादिष्ट भएकाले उपभोक्ताले अधिकमात्रामा रुचाउने व्यापारी बताउँछन् ।