
उदयपुर, १९ मंसिर– जागिर जाने डरले सहरी विकासमन्त्री डा नारायण खड्काले राष्ट्रिय सरकार गठनप्रति आपत्ति जनाएका छन् । उनले संविधान निर्माण गर्नुपर्ने बेलामा राष्ट्रिय सरकार गठनको कुरा गर्नु असान्दर्भिक हुने बताए ।
सदरमुकाम गाईघाटमा आज बिहान प्रेस युनियन उदयपुरद्वारा आयोजित पत्रकार विशेष भेटघाटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा खड्काले सरकार गठन र गिराउने कुरा गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको झनै बेइज्जत हुने र संविधान निर्माणमा ढिलाइ हुने जिकिर गरेका हुन् ।
उनले एकीकृत माओवादीसहित२२ दलीय मोर्चाले १० प्रदेशको माग गरे पनि नेपाली कांग्रेस, नेकपा एमालेलगायत दल सात प्रदेशको अवधारणाबाट आठदेखि नौ प्रदेशसम्म जान तयार भएको बताएका हुन् । सो मोर्चा एक प्रदेश घटेर नौ प्रदेशमा झरे संविधान निर्माणको कुरा मिलिहाल्ने विश्वास नेता डा खड्काले व्यक्त गरे ।
रासस