नवलपरासीका तीन चिनी मिल सञ्चालनमा

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ३:१८ मा प्रकाशित

नवलपरासी, १९ मंसिर– नवलपरासीमा रहेका तीन वटा ठूला चिनी मिल सञ्चालनमा आएका छन् ।  नवलपरासीमा रहेको चार वटा चिनी मिलमध्ये तीन वटा सञ्चालनमा आएको उखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।

नवलपरासीमा रहेको लुम्बिनी चिनी कारखाना, बागमती खाडसारी मिल र इन्दिरा सुगर मिलले क्रसिङ सुरु गरेको हो । ती चिनी मिलले गत वर्षको रकम भुक्तानी गरेर क्रसिङ सुरु गरेका हुन् ।

गतवर्षदेखि सञ्चालनमा आएको मोहनी सुगर मिलले भने यस वर्षको क्रसिङ अझै सुरु गरेको छैन । मिलले किसानलाई अझै डेढ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु किसानका अगुवा प्रेमचन्द्र गुप्ताले बताए ।

चिनी मिल सञ्चालनमा आएपछि किसानले उखु काट्न सुरु गरेका छन् । तर, यस वर्ष पनि अझै उखुको मूल्य निर्धारण नहुँदा किसान अलमलमा परेका छन् ।

उखु उत्पादक कृषक संघर्ष समितिका अध्यक्ष उमेश यादवले चिनी मिलले उखुको मूल्य निर्धारण भएपछि रकम भुक्तानी गर्ने गरी अहिले पेस्की रकमका आधारमा उखु खरिद गरेको बताए । तत्काल पेस्की रकम नपाउने हुँदा नगद आवश्यक पर्ने किसानले अझै पनि क्रसर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us