
खोटाङ, १९ मंसिर– चिसो बढेसँगै जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिरामीको चाप बढेको छ । मंसिर पहिलो हप्तादेखि दैनिक एक सय ५० जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेको जिल्ला अस्पताल खोटाङका चिकित्सक माधवप्रसाद लम्सालले बताए ।
भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित बनेका छन् । अस्पतालमा आएकामध्ये अधिकांश बिरामीलाई भर्ना गरेर उपचार गर्नु परेका कारण शैयाको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
शैयाको अभावमा कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । १५ शैयाको अस्पतालले हाल २६ शैयाको व्यवस्था मिलाएर उपचार सेवा प्रवाह गर्दै आएको छ । रासस